अर्घाखाँचीमा प्रशासनद्वारा थप कडाई, दशैंका बेला कुनै कार्यक्रम गर्न नपाईने, व्यापक प्रहरी परिचालन

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमण बढदै गईरहेको बेला नजिकिदै गरेको नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने भएको छ । 
मंगलबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलबाट जारी आदेश अनुसार दशैं, तिहारका बेला मनोरन्जनका कार्यक्रम गर्न, गराउन नपाईने । जहाँ सुकै आवतजावत गर्दा २ मिटर दुरी कायम गर्नुपर्ने, भारत, तेस्रो मुलुक तथा जिल्लाबाट आउनेलाई १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने लगायत मापदण्ड अपनाउन भनिएको छ । 
 व्यापक प्रहरी परिचालन
उता जिल्लामा नजिकिदै गरेको नेपालीहरूको महान् चाड दशैं, तिहार र छठको अवसरमा हुने बिभिन्न किसिमका आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण एवं रोकथाम गर्न व्यापक प्रहरी परिचालन गर्न लागिएको छ।  
कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाभर ठुलो संख्यामा प्रहरी परिचालन गर्न लागेको हो।   
अर्घाखाँची प्रहरीले चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, जुवा, अबैध मदिरा बिक्री बितरण नियन्त्रण गर्न ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घण्टा गस्ती गरिने जनाएको छ।
साथै प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने बताएको छ । कोही कसैलाई कुनै समस्या परेमा २४ सै घण्टा प्रहरी निरक्षक राम नारायण गुप्ता ९८५७०८६०९९ वा ०७७-४२०२९९ मा फोन गर्न सकिनेछ । 
यस्तै नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन अर्घाखाँची प्रहरीले अनुरोध गरेको छ। कोरोना महामारी फैलिनबाट जोगिने र अनावश्यक खर्च पनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो।

अन्य समाचारहरु