काठमाडौंको तारकेश्वर नगरपालिकाले सबै कोराेना संक्रमितलाई पाँच हजार दिने

काठमाडौंको तारकेश्वर नगरपालिकाले कोराेना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु. पाँच हजार दिने भएको छ ।
नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरूप रकम दिइने भएको हो । 
कोरोना पजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए । 
हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा आठ सय ६६ महिला र एक हजार दुई सय २० पुरुष  छन् ।
निको हुनेको संख्या एक हजार आठ सय २९ छ । कोरोनाबाट अहिलेसम्म सातजनाको मृत्यु भएको छ अहिले सक्रिय संक्रमित दुई सय ५० जना पुगेका छन् ।  रासस