बिहिबार बसेको मन्त्रिपरिषदको अनौपचारिक वैठकले पूर्व विद्रोही माओवादीलाई आफ्ना सैन्य प्रशिक्षण र हिंसात्मक कृयाकलाप तत्काल रोक्न आग्रह समेत गरेको छ।
तर माओवादीले भने आफ्ना कार्यक्रमहरु शान्तिपूर्ण हुने बताएको छ।
उसले पूर्वदेखि पश्चिम सम्मका विभिन्न जिल्लाका युवाहरुमाझ लाठी र खुकुरी तालिमलाई तिव्रता दिइरहेको बेला, सुरक्षा स्थिति र रणनीतिकाबारे छलफल गर्न बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको एउटा अनौपचारिक बैठक बसेको थियो।
‘सम्झौता विपरित’
सो वैठकले माओवादीले देशभर सञ्चालन गरेका प्रशिक्षणलाई अर्धसैन्य तालिमको संज्ञा दिदै त्यो शान्ति सम्झौता विपरित भएको ठहर गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले बताए।
“जतिपनि अर्धसैन्य तालिमहरु भइरहेका छन् तीनलाई बन्द गर्न आग्रह गर्ने निर्णय भएको छ।”
मन्त्री पोखरेलका अनुसार सो बैठकले माओवादीका सम्भाव्य हिंसात्मक क्रियाकलापलाई नियन्त्रण गर्न आवश्यक सुरक्षा रणनीति अपनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ।
“उनीहरुका क्रियाकलाप हिंसात्मक भयो भने त्यसलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिइएको छ।”
आगामी मे एक तारिखमा माओवादीले देशभर सरकार विरुद्ध प्रदर्शनहरु गर्ने तयारी गरिरहेको बेला हाल जारी सैन्य प्रशिक्षणका खबरले धेरैलाई चिन्तित बनाएको छ।
तीनलाई माओवादीले नियमित आत्मरक्षा तालिम भनेपनि, सरकारकै एकजना मन्त्रीले माओवादीका क्रियाकलाप नसुध्रीए अब शान्ति प्रक्रिया नै भङ्ग हुने टिप्पणी गरेका छन्।



