काठमाडौँ – सरकारले ५५ वर्ष माथिका नागरिकले जो जहाँ छन्, त्यहिँबाट खोप पाउने भएकाले कसैलाई पनि भ्रममा नपर्न अनुरोध गरेको छ।
फागुन २३ गतेदेखि सुरु हुन लागेको दोस्रो चरणको खोप अभियानमा कतिपयले खोप लगाउनका लागि आफ्नै स्थानीय तहमा पुग्नु पर्ने हो कि भन्ने प्रश्न गरिरहेका बेला सरकारले त्यस्तो भ्रममा नपर्न र जाे जहाँ छ त्यहिँ खाेप पाउने बताएकाे हाे।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार जो जहाँ छन्, उनीहरुले त्यही खोप लगाउन पाउने छन्। तर त्यसका लागि खोप लगाउन जाँदा सरकारी परिचय पत्र (नगरिकता, मतदाता परिचय पत्र, लाइसेन्स) अनिवार्य रुपमा चाहिने छ।
सरकारी परिचयपत्र भएपछि आफू बसेरहेकै ठाउँमा खोप लगाउन पाइने डा. अधिकारीले बताए।
‘जो जहाँ बसिररहेका छन्। त्यहिँ खोप लगाउन पाउने छन्। तर उनीहरुको साथमा परिचय खुल्ने सरकारी परिचय पत्र भने हुनु पर्ने छ’, उनले भने, ‘खोप लगाउनका लािग स्थानीय तहमै पुग्नु पर्ने भयो भने त काठमाडौँमा धेरै मानिसहरु खोप नै लगाउन पाउँदैनन्। किनभने काठमाडौँ बस्ने अधिकांश जिल्ला बाहिरका छन्।’
कोरोना भाइरसविरुद्धको खोप लगाउन एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलिने डर र संक्रमण नियन्त्रणका लागि एकै ठाउँमा खोप लगाउनु पर्ने भएकाले सम्बन्धित व्यक्ति आफ्नै स्थानीय तहमै खोप लगाउन पुग्नु नपर्ने भएको हो।
यस्तै डा. अधिकारीले पहिलो डोज जहाँ लगाएको हो, दोस्रो डोज पनि त्यहिँ लगाउनु पर्ने अनिवार्य नभएको बताए।
उनले भने, ‘पहिलो डोज लगाएको १० देखि १२ हप्ता पछि दोस्रो डोज जुनसुकै ठाउँमा लगाउन पाइन्छ। तर दोस्रो डोज लगाउनका लागि पहिलो डोज लगाएको कार्ड भने अनिवार्य रुपमा देखाउनु पर्ने छ।’
कोरोना भाइरस महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतलाई पहिलो प्राथमिकतामा राखेर सरकारले पहिलो चरणमा गएको माघ १४ देखि २४ सम्म खोप अभियान सञ्चालन गरेको थियो।
फागुन २३ गतेबाट भने ५५ वर्ष माथिका सबै नागरिकलाई दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सुरु गरिने भएको छ।
पहिलो र दोस्रो प्राथमिकतामा परेको समूह गरि कुल जनसङ्ख्यामा २० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने सरकारको तयारी छ।
यस्तै पहिलो डोज लगाएका सबै व्यक्तिलाई १० देखि १२ हप्ता पुगेपछि दोस्रो डोज दिने मन्त्रालयले जनाएको छ।