सार्क स्थायी समिति वैठक भुटानको राजधानी थिम्पुमा सुरु

थिम्पु (भुटान)  – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थायी समिति वैठक भुटानको राजधानी थिम्पुमा सुरु भएको छ। वैठकले सार्क शिखर सम्मेलनमा यसअघि भएका सम्झौता र प्रतिवद्धताको समिक्षा गर्नुका साथै सम्मेलनका एजेन्डालाई अन्तिम रुप दिई सार्क मन्त्रिपरिषदमा अनुमोदनका लागि पठाउने भुटानका सूचना तथा सञ्चार सचिव किन्ने दोर्जीले  बताए।

सार्कका सबै सदस्य राष्ट्रका परराष्ट सचिव सदस्य रहने स्थायी समितिको यो ३७ औं वैठक हो। नेपालबाट परराष्ट सचिव मदन भट्टराई सहभागी वैठक सोमबार सकिनेछ।
सार्क स्थापनाको २५ औं वर्षमा भुटानले पहिलो चोटी सार्क सम्मेलन आयोजना गर्दैछ। यो सार्कको १६ औं शिखर सम्मेलन हो।

यो शिखर सम्मेलनमा जलवायु परिवर्तन, क्षेत्रिय सेवा व्यापार र प्रकोप व्यवस्थापन संयन्त्र स्थापना गर्ने मुख्य एजेण्डा रहेको सचिव भट्टराईले बताए।
सचिव स्तरीय स्थायी समितिले अन्तिम रुप दिने यी एजेन्डालाई सार्कका परराष्ट्र मन्त्री सदस्य रहने मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ।

स्थायी समिति वैठक लगत्तै मंगलबार मन्त्रिपरिषद् वैठक बस्नेछ। उपप्रधान तथा परराष्ट मन्त्री सुजाता कोइराला आइतबारै थिम्पु आइपुगेकी छन्।