जनप्रदर्शनका लागि राजधानी ल्याइँदै गरेको झण्डै ६ सय लाठी प्रहरीले बरामद

काभ्रे  – राजधानीमा हुने जनप्रदर्शनका लागि ल्याइँदै गरेको झण्डै ६ सय लाठी प्रहरीले काभ्रेमा बरामद गरेको छ । माओवादीले हिमालयन डेरीको दुध बोक्ने मिनि ट्रकमा लाठी पठाउन लागेका थिए ।

तीन पिप्लेबाट आइरहेको लाठी बोकेको बा २ च ७८६५ नम्वरको मिनि ट्रकलाई प्रहरीले खावामा नियन्त्रणमा लिएको थियो । उक्त लाठी पात्लेखेतस्थित कँडेल सामूदायिक वनबाट ल्याइएको प्रहरी प्रमुख रविन्द्र धानुकले  जानकारी दिए ।

प्रहरीले ट्रक धनी मदनबहादुर श्रेष्ठ र ड्राइभर सन्तोष तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । माओवादीले मजदुर दिवसका अवसरमा १८ गते राजधानीमा व्यापक प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका लागि माओवादीले देशभर लाठी तथा खुकुरीसहित प्रशिक्षण दिएको थियो ।