अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा आगलागीबाट भएको क्षतिप्रति नेकपा(एमाले) अर्घाखाँचीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनाराण आचार्यले दुःख व्यक्त गर्नुभएको छ ।
आचार्यले आगलागी पीडितलाई आवश्यक, राहत तथा सहयाेगका लागि प्रदेश सरकार, सम्बन्धित स्थानीय सरकार,जनप्रतिनिधिहरु, सरकारी निकाय,विभिन्न संघसंस्था एंवम पार्टी आम नेता कार्यकर्ताहरुमा अनुराेध गर्नु भएकाे छ। साथै क्षतिपूर्ति दिलाउन पहल गर्ने बताउनुभएको छ । उहाँले गर्मीयाममा आगलागीको जोखिम बढ्ने हुँदा सचेत रहन समेत सबैमा आग्रह गर्नु भएको छ ।
आगलागीबाट शनिबार छत्रदेव ४ धरम्पानीमा १ घर, ३ गोठ जलेका छन् । आगलागीबाट नारायण मगरको घर र गोठ, गोपाल पाण्डेको गोठ र दुइ बाख्रा, दिलबहादुर भण्डारीको गोठ र एउटा भैंसी जलेको छ ।
यस्तै भुमिकास्थान ८ नुवाकोटमा मदनलाल पौडेल र छबिलाल पौडेलको एक/एक गोठ जलेको छ । यस्तै शनिबार नै सितगंगा २ झिर्रामा पवित्रा भाट क्षेत्रीको गोठ र एक बाख्रा जलेको छ ।
चैत्र १० गते सितगंगा नगरपालिका पिरापानीमा ओमबहादुर रानाको २ कोठे बाख्राको खोर जलेको छ । चैत्र ७ गते मालारानी गाउँपालिका ५ मा खिमबहादुर चुँदालीको घर गोठ, ४ बाख्रा र ३ भैंसी जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।