हलिम खाँन | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले सदरमुकाम सन्धिखर्कमा “तपाईको माक्स खै ?” अभियान शुरु गरेको छ ।
कोभिड १९ को प्रकोप नसकिएको र बजारमा मानिसहरुले माक्सको प्रयोग नगरि हिड्न थालेपछि प्रहरीले आज “तपाईको माक्स खै ?” भन्ने प्लेकार्ड सहित जनचेतना अभियान शुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट र्याली सहित आएका प्रहरीको समूहले सन्धिखर्क, चुत्राबेसीमा विभिन्न जनचेतनामुलक प्लेकार्ड बोकेर र्याली गरेका थिए । उनीहरुले “तपाईको माक्स खै ?”,अनिवार्य रुपमा माक्स प्रयोग गरौ, जथाभावी भिडभाड नगरौ, “सामाजिक दुरी कायम गरौं” , “कोरोना हटाउन आजै देखी सामुहिक रूपमा लागौं लगाएतका विभिन्न प्लेकार्ड बोकेका थिए ।
उता गृह मन्त्रालयले पनि घरबाट निस्कदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नको लागि देशभरका सबै जिल्लामा पत्रचार गरिसकेको अवस्थामा उक्त विषयलाई थप जनचेतना जगाउनको लागि कार्यक्रमको आयोजना गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको भनाई रहेको छ ।
साथै अर्घाखाँची जिल्लाका सार्वजनिक स्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुन नपाइने भएकाे छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितीको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि हिजो बिहीवारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आदेश जारी गरेको छ ।
भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेकाले अर्घाखाँचीसमेत उच्च जोखिममा रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नका लागि आग्रह गरिएको छ । अती आवस्यक काम नपरि घरबाट ननिस्कने निस्कनै परेमा अनिवार्य मास्क लगाउन पर्ने छ ।
“विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने छ । यस्तै “सिनेमा हल, पार्टीप्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।”