आमहड्तालको दोश्रो दिन पनि काठमाण्डू लगायत देशका अन्य भागमा विरोध प्रदर्शन सामान्यतया शान्तिपूर्ण नै रह्यो।
हडताल सफल पार्न माओवादीका नेता, कार्यकर्ता र समर्थकहरु सडकमा विरोधसभा, भाषण, गीत-संगीत, धर्ना, जुलुस र नारावाजीमा व्यस्त देखिन्थे।
चासो
आमहडताल शान्तिपूर्ण भए पनि जनजीवन कष्टपूर्ण बन्दै गएकाले सर्वसाधारणले सोध्न थालेका छन्, आमहड्ताल कहिले फिर्ता हुन्छ?
त्यसैले उनीहरुको ध्यान-दृष्टि टेलिभिजन, पत्र-पत्रिका अनि रेडियोमा पाइन्छ।
उनीहरुको अप्ठेरोलाई ख्याल गरी आमहड्ताल फिर्ता गर्न विभिन्न क्षेत्रले माओवादीमाथि दवाब बढाउँदै पनि लगेका छन्।
तर आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनको बाटो खुला गर्दै प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा नदिँदासम्म हडताल फिर्ता नलिने माओवादीको अडान छ।
तर सत्तापक्ष भनिरहेको छ, “शान्ति प्रकृया र नयाँ संविधान लेखन लगायतका विषयमा प्याकेजमा सहमति भए राजीनामा कुनै ठूलो कुरै होइन।”
वार्ता
तैपनि प्रमुख प्रतिपक्षी माओवादी र सत्ताधारी नेकपा एमाले र नेपाली कांग्रेसले वार्ता प्रयासबाट पछि हटेका छैनन्।
माओवादीसँग कांग्रेस र एमालेको छुट्टा छुट्टै बैठक भएको थियो।
तर द्विपक्षीय वार्ता पछि संयुक्त बैठक नभएकाले वार्तामा कुनै प्रगति भएको छैन।
राजनीतिक गतिरोधकाबीच माओवादीको सडक दवाब थेग्न प्रधानमन्त्रीको होस्टेमा सत्ता-सहयात्रीले हैँसे थपिरहेका छन्।
सरकारमा सहभागी दश पार्टीको बैठकले माओवादीलाई आमहड्ताल फिर्ता लिन आग्रह गर्दै खुट्टा नडगमगाएको संकेत दिएको छ।



