काठमाडौ, वैशाख २४ – राजधानीको विभिन्न स्थानमा शुक्रबार तनाव भएको छ । व्यवसायी र पेसाकर्मीले आव्हान गरेको शान्ति सभाका सहभागी र माओवादीबीच विभिन्न स्थानमा झडप भएको छ । शान्ति शभामा सहभागी हुनुपूर्व र बसन्तपुरबाट फर्केपछि उनीहरुको माओवादी कार्यकर्तासँग राजधानीका बिभिन्न भागमा झडप भएको हो । प्रहरीले दुई पक्षलाई आमनेसामने हुन बिभिन्न स्थानमा अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रदर्शनी मार्गमा राष्ट्रिय सभागृह अगाडि शान्ति र्याली र माओवादीबीचको झडप नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रृ ग्याँस प्रहार गरेको थियो । त्यस लगत्तै सभागृहबाट बाहिरिएको माओवादी कार्यकर्ता र र्यालीका सहभागीहरुबीच पुरानो बसपार्कमा भएको झडप रोक्न पनि प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । शान्तिको पक्षमा नारावाजी गर्दै र्याली नगर घुम्दै थियो । वसन्तपुरमा सभा सकिएर स्वस्फुर्त रुपमा निस्केको जुलुशले प्रदर्शनी मार्ग,पुतली सडक लगायतका क्षेत्र घुमेको थियो ।
पदमोदय मोडमा समेत तनावको स्थिति उत्पन्न भएको थियो ।
पाटनको कृष्ण मन्दिर अगाडि शान्ति सभाबाट फर्किएकाहरुले माओवादीले प्रयोग गरेको गाडीमा तोडफोड गरेका थिए । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनु अघि र्यालीका सहभागी र माओवादी कार्यकर्ताबीच त्यहा केहीबेर तनाव भएको थियो । वसन्तपुरमा आयोजना गरिएको सभामा सहभागी हुन जान लागेका सहभागीलाई माओवादी कार्यकर्ताले कुपण्डोलमा अवरोध पुर्याएपछि त्यहाँ प्रहरीले हस्तक्षेप गरेको थियो । माओवादी सभासद प्रेमबहादुर पुलामी लगायत केही माओवादी कार्यकर्ता घाइते भएका थिए ।
त्यस्तै,सभामा सहभागी हुन जान लागेको जुलुश र माओवादीबीच रत्नपार्कमा झडप भएको थियो । त्यहाँ स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रृ ग्याँस प्रहार गरेको थियो । त्यसस्थानमा युथफोर्सको अगुवाईमा जुलुश भएको र उनीहरुले ढुङ्गा प्रहार गरको माओवादीले बताएको छ । बागबजार क्षेत्रमा माओवादीले लाठी लिएर युथफार्सलाई खोज्दै भागदौड गरेको थियो ।



