एकीकृत नेकपा (माओवादी) ले अनिश्चितकालीन राजनीतिक आमहडताल फिर्ता लिएर लोकतान्त्रिक विधि र चरित्र उजागर गरेको नेपाली कङ्ग्रेसले प्रतिक्रिया दिएको छ। जनताको भावनालाई बुझेर माओवादीले आमहडताल फिर्ता लिनु उसको लोकतान्त्रिक चरित्रलाई विश्वासतर्फ उन्मुख गराएको समेत ठहर कङ्ग्रेसको छ। नेका प्रवक्ता अर्नुननरसिंह केसीले रासससँग भने– “लोकतान्त्रिक विधिबाहेक अरू कुनै बाटो सही हुँदैन भन्ने निष्कर्षमा माओवादी पुगेको देखिएकाले कङ्ग्रेसले यसलाई सकारात्मकरुपमा लिएको छ।”
उनले माओवादीको पछिल्लो कदमले राजनीतिक सहमतिको सकारात्मक बाटो खुलेको भन्दै यसले दलहरु सम्वादबाटै सहमतिमा पुग्नुपर्छ भन्ने सन्देश दिएको बताए।
प्रवक्ता केसीले विभिन्न सहमति र अन्तरिम संविधानको दस्तावेजले पनि सहमति र सहकार्यबाट मात्र एउटा विन्दुमा पुगिन्छ भन्ने सन्देश दिएकाले १२ बुँदेदेखि हालसम्मका सबै समझदारीको आधारलाई टेकेर निरन्तर सहमति खोज्न सम्पूर्ण जिम्मेवार दल गम्भीर हुनुपर्नेमा जोड दिए।
लोकतान्त्रिक विधिको बाटो छोड्दा त्यसले दुर्घटना मात्र निम्त्याउँछ भन्ने कुरा माओवादीले पछिल्लो आफ्नो आन्दोलनबाट पाठ सिकेकाले विधि र प्रक्रियाबाटै समस्याको समाधान गर्न नयाँ प्रयासको थालनी हुने उनले विश्वास व्यक्त गरे।



