अर्घाखाँचीमा होम आइसोलेसनमा बसेर कोरोना जित्नेको संख्या बढ्दो


सागर महत 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा होम आइसोलेसनमा बसेर कोरोना जित्नेको संख्या बढ्दो छ । शनिवारसम्म निको भएका १ हजार ७ सय ६२ संक्रमितमध्ये धेरैले स्वास्थ्यकर्मीको परामर्शमा घरमै औषधि सेवन गरेर निको भएका छन् । अर्घाखाँचीमा शनिवार बेलुकासम्म २ हजार एकसय ७७ जनामा संक्रमण पुष्टी भएको छ ।
अहिलेसम्म १ हजार ७ सय ६२ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले बताईन्। त्यसमध्ये १ हजार ३ सय ६८ जना संक्रमित होम आइसोलेसनमै बसेर निको भएका हुन् । ९ सय ८३ जना पुरुष र ३ सय ८५ जना महिला संक्रमणमुक्त भएका छन् । ४ सय ७२ जना अहिले पनि होम आइसोलेसनमै छन् ।
मालारानी गाउँपालिकामा ८३ जना संक्रमित घरमै बसेर निको भए । ३२ जना अहिले पनि होम आइसोलेसनमै छन् । घरमै पुग्ने, स्वास्थ्य अवस्थाबारे परामर्श दिने र अलि गाह्रो भएमा अस्पताल लैजान भनिएको स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले बताए । गाउँमा औषधिसहित जडीबुटी, बेसारपानी, पोषिलो खाना, बिहान योग व्यायाम गरेर कोरोनालाई जित्नेको संख्या बढ्दो रहेको उनले जानकारी दिए । अहिले वडामा पुगेर एन्टिजेन परीक्षण गर्ने क्रम भइरहेको छ । संक्रमितको घरमा स्वास्थ्यकर्मी पुग्ने, केहीलाई फोनबाटै कोरोना भनेको के हो, कसरी सर्छ, संक्रमित भएपछि निको हुने उपायका बारेमा परामर्श दिइरहेको खनालले बताए ।
सन्धिखर्कस्थित जनज्योति माविका शिक्षक चिरञ्जीवी पौडेल कोरोना संक्रमण भएपछि अस्पताल गएनन् । चिकित्सकको परामर्शमा औषधि र जडीबुटी खाएर घरमै बसेर कोरोनालाई जिते । १८ दिनमा उनी होम आइसोलेसनबाट सामान्य जीवनमा फर्किए । ‘ज्वरो, रुघाखोकी, शरीर दुख्नेलगायतका समस्याले ज्यान शिथिल बनायो,’ उनले भने, ‘मेडिकल र आयुर्वेदिक स्वास्थ्यकर्मीसँग परामर्शमा रहें । जडीबुटी दिनमा तीनरचारपटक खाएर आत्मबल बलियो बनाएपछि कोरोनालाई जित्न सकिन्छ ।’ बिहान योग, तातोपानी, गुर्जो, मरिच, बेसार, ज्वानो, लसुनलगायतका जडीबुटी सेवन गरेपछि होम आइसोलेसनमै धेरै संक्रमित निको भएर काममा फर्किएका छन् ।
जिल्लामा दुई हजार भन्दा बढीमा संक्रमण देखिदा अहिलेसम्म ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिकाका १४, शितगंगा नगरपालिकाका ११, भुमिकास्थान नगरपालिकाका १४, मालारानी गाउँपालिकाका १०, पाणिनी गाउँपालिकाका ७ र छत्रदेव गाउँपालिकाका २ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । दोस्रो लहर सुरुहुँदा स्थिती भयावह देखिएपनी निषेधाज्ञा जारी गरिएपछी संक्रमणदर कम हुँदै गएको छ ।

अन्य समाचारहरु