आन्दोलनमा परिचालन सुरक्षा निकायले उत्कृष्ट कार्य गरेकोमा प्रशंसा

काठमाडौं  – गृहमन्त्री भीमबहादुर रावलले हालै भएको आन्दोलनमा सुरक्षा निकायले उत्कृष्ट कार्य गरेकोमा प्रशंसा गरेका छन् ।

आन्दोलनमा ड्यूटी परिचालनपछि आज सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आयोजित डि ब्रिफिङमा गृहमन्त्री रावलले सशस्त्र प्रहरी बलको साहस, दृढ विश्वास र कर्तव्य परायणताको प्रशंसा गर्दै बलको साहसलाई जस्तोसुकै आँधीतुफानले पनि केही गर्न सक्दैन भन्ने आफ्नो विश्वास रहेको बताए ।

उहाँले सरकारले सोचे अनुरुप र सरकारको नीति निर्देशन अनुरुपनै मानवअधिकारको पूर्ण रुपमा रक्षा गरी देश र जनतालाई सर्वोपरी ठानेर लोकतन्त्रको मान्यता र मानवअधिकारलाई शीरोपर गरेर सशस्त्र प्रहरी बलले गरेको प्रयासको प्रतिफल शान्ति सुव्यवस्था कायम राख्न सफल भएको उल्लेख गरे ।

गृहमन्त्री रावलले देश, संविधान र लोकतन्त्रको रक्षाका लागि सुरक्षा निकाय कति दृढ छ भन्ने यस साता दिनको अवधिमा पुःन प्रष्ट भएको उल्लेख गरे । सरकारले शान्तिका लागि आवश्यक लचकता अपनाउने चर्चा गर्नुहुँदै उहाँले मानवअधिकारको मूल्य मान्यतालाई आत्मसात गरेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुहुँदै आगामी दिनमासमेत चुनौती आइपर्ने हुँदा सशस्त्र प्रहरी बल आगामी दिनमा पनि सक्रिय र सजग रहेर बस्नुपर्ने बताए ।

उनले सीमा सुरक्षा, अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, अवैध हातहतियार नियन्त्रणलगायतका क्षेत्रमा बलले उत्कृष्ट कार्य गरेको र बलले अझै सक्रिय र सजगताका साथ दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेतले आगामी दिनमा आइपर्न सक्ने चुनौतीको पूर्वानुमान गरेर त्यसैअनुरुप दक्षता हासिल गर्दै हालका दिनमा सङ्गठन अगाडि बढिरहेको उल्लेख गर्दै अप्ठेरो परिस्थितिमासमेत विशिष्ट योगदान पुर्‍याउन शारीरिक तथा मानसिक रुपमा तयार रहन निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत काठमाडौँ उपत्यकास्थित बलका सबै इकाईका प्रमुख तथा एपिएफ अधिकृत र जवानहरूकोसमेत उपस्थिति रहेको सशस्त्र प्रहरी वल प्रधानकार्यालयले जनाएको छ ।