माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीचको वार्ता बिना निश्कर्ष टुंगियो

काठमाडौँ, जेठ ४  – माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच आज बिहान राजधानीको ठमेलस्थित होटल वैशालीमा भएको वार्ता बिना निश्कर्ष टुंगिएको छ। 


वार्ताबाट निकास खोज्न  प्रयास जारी राख्‍न भने दुवै पक्ष सहमत भएको वार्तापछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई बताए।


वार्तामा कांग्रेसका तर्फबाट कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल उपस्थित थिए। माओवादीतर्फ भने अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य र पोस्टबहादुर बोगटी थिए।

माओवादीले वर्तमान सरकारले राजीनामा नदिएसम्म संविधान सभाको म्याद नथप्ने र कांग्रेसले सेना समायोजन लगायतका विषयमा प्याकेजमा सहमति नभएसम्म सरकारले राजीनामा नदिने आ-आफ्नै अडान कायम राखेपछि वार्ता कुनै निश्कर्षमा पुग्न नसकेको हो।