वेलायती महारानी इलिजावेथ द्वितीय समक्ष नेपालका राजदूत सुरेशचन्द्र चालिसेले ओहदाको प्रमाणपत्र पेश

काठमाडौं, जेठ ६  – संयुक्त अधिराज्यका लागि नेपालका राजदूत सुरेशचन्द्र चालिसेले वेलायती महारानी इलिजावेथ द्वितीय समक्ष वकिंघम राज प्रसादमा आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्। समारोहमा वेलायती परराष्ट्र मन्त्रालयका सचिव, डिप्लोमेटिक कोरका मार्सल चार्ल्स ग्रे तथा राजदरवार एवं परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरुको उपस्थिति थियो।




राजदूतव्दारा ओहदाको प्रमाणपत्र पेश गरेपछि दूतावासका पदाधिकारीहरुले छुट्टाछुट्टै वडामहारानीसरकारसंग दर्शनभेट गरेका थिए। राजदूत चालिसेले महारानीलाई नेपालका राष्ट्रपतिले पठाउनु भएको सुस्वास्थ्य तथा दीर्घायुको सुभेच्क्षाको जानकारी दिएको वेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ। वेलायत सरकारले नेपालको सामाजिक विकास र शान्ति प्रक्रियामा पुर्‍याएको सहयोग सह्रानिय राजदूतले अवगत गराएका थिए।

नेपालको राजदूतावास केन्सीटन प्यालेस गार्डेनबाट वकिंघम राजदरवारसम्म विशेष प्रकारका दुई वटा वग्गीमा शिष्टाचार प्रमुख सहित लैजाने र समाहरोहपश्चात पुर्‍याउने कार्य भएको थियो।


सोही अवसरमा साँझ महामहिम राजदूतव्दारा राजदूतावासमा एक स्वागत समाहरोहको आयोजना गरिएको थियो, जसमा कुटनैतिक नियोगका प्रमुखहरु, नेपाली संघ संस्थाका प्रमुखहरु, संचारक्षेत्रका प्रतिनिधिहरु, नेपाललाई सहयोग पुर्‍याउने वेलायती संघ संस्थाका प्रतिनिधिहरु, राजप्रसाद, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय एवं अन्तराष्ट्रिय विकास विभागका पदाधिकारीहरु र नेपालका शुभचिन्तक मित्रहरुको उपस्थिति रहेको थियो।