सरकार फेर्ने काममा लागेर संविधानसभा नै विघटन हुने स्थिति आउन नदिन १० दलहरुको आग्रह

काठमाडौं, जेठ ७ –  साना १० दलको बैठकले सरकार फेर्ने कामलाई महत्त्व दिएर संविधानसभा नै विघटन हुने स्थिति आउन नदिन प्रमुख राजनीतिक दलहरुसँग आग्रह गरेका छन्। नेकपा मालेको संसदीय दलको कार्यालयमा भएको बैठकमा उनीहरुले संविधानसभाको म्याद थपेर यसैबाट संविधान बनाउनुपर्ने सुझाव पनि दिएका छन्।

 

ठूला दलहरुले सरकारलाई बढी जोड दिएकाले संविधान ओझेलमा परेको पनि बैठकका सहभागीले जनाएका थिए। त्यसैले सहमतिकै आधारमा संविधानसभाबाटै संविधान बनाउनुपर्ने भनाइ उनीहरुको थियो।

माले महासचिव सीपी मैनालीले सरकार फेर्ने कामलाई बढी महत्त्व दिएर संविधानसभा नै खारेज हुने अवस्थामा पुर्‍याउन नहुनेबारे दलहरुको सुझाव आएको जानकारी सञ्चारकर्मीलाई दिए।