माओवादी केन्द्रीय समिति बैठक आज सकिने

– गणेश चुदाली, काठमान्डौ
बिबिध समाचार र स्रोतबाट

 

एकीकृत नेकपा माओवादीले जेठ १४ अघि नै संविधानसभाको म्याद थप गर्ने नगर्ने विषयमा आज अन्तिम निर्णय गर्ने बताएको छ । जारी रहेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल सकिएपछि सदस्यहरुले राखेका धारणाका आधारमा भावी कार्यनीति तय गर्ने माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

 

विगतको आन्दोलनको समीक्षा वर्तमान राजनीतिक स्थितिको विश्लेषण र भावी नीतिबारे तीन खण्डमा विभाजन गरिएको पुष्कमल दाहाल प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले भनाइ राख्ने क्रम जारी रहेको छ । आज बाँकी केन्द्रीय सदस्यहरुले भनाइ राखेपछि अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने र त्यसैका आधारमा प्रतिवेदन पारित गर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

 

अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले संविधानसभाको म्याद थप गर्ने र भावी कार्यदिशा सत्ता वा जनविद्रोह के हुने भन्नेमा फरक फरक धारणा राखेका छन् । आज एमालेसँग भएको छुट्टै छलफल र तीनदलको बैठकमा भएको छलफलका आधारमा पनि नीतिमा केही फेरबदल हुनसक्ने माओवादी नेताहरुले बताएका छन् । बैठक बिहान १० बजेपछि पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्दैछ ।