अर्घाखाँचीमा कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी, एस गठबन्धनले टोपबहादुरलाई चुनाव जित्न कठिन


लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । उपनिर्वाचनको मिति घोंषणा नभएपनि अर्घाखाँचीमा चर्चा भने शुरु भईसकेको छ । निर्वाचन आयोगले निर्वाचनको मिती घोंषणा नगरेपनी आन्तरिक तयारी थालेको छ ।  सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका उपनिर्वाचन तथा राष्ट्रियसभा चुनावमा एमालेविरुद्ध मिलेर लड्ने निर्णय गरेको छ । गठबन्धनको यो निर्णयले अर्घाखाँचीमा हलचल मच्चीएको छ । राष्ट्रिय जनमोर्चाको  निर्णायक मत छ । 
हंसपुरको बामरुकमा नेकपा माओवादी केन्द्रको चुनावी कार्यक्रममा माओवादीमा प्रवेश गरेकालाई स्वागत गर्दै टोप बहादुर रायमाझी । – अर्घाखाँचीडट्कम- फाइल तस्बिर / २०७४ आश्विन ८, आइतवार
टोपबहादुरको ह्याट्रिक ब्रेक लगाउन सक्ला गठबन्धन ?
अर्घाखाँचीबाट २०६४ सालको संविधानसभा निर्वाचनदेखि तीनवटै आम निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट लगातार निर्वाचित हुँदै आएका टोपबहादुर रायमाझी यसपटक नयाँ परिचयका सहित उपनिर्वाचनमा जानेछन् । तत्कालीन माओवादीको शीर्ष तहका नेता रायमाझीले दुईपटक आफ्नै बलमा र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र जनमोर्चाको समेत मत पाएर सांसद निर्वाचित भएका थिए ।
अहिले उनी एमाले नेताको रुपमा परिचय बनाउने क्रममा छन् । जनयुद्धका कमाण्डर समेत रहेका रायमाझीले माओवादी छोडेको अधिकांश माओवादी समर्थकलाई मन परेको छैन । रायमाझीसँग हिंजोको माओवादी पंक्ति रुष्ठ छ । जिल्लामा करिब २० प्रतिशत नेताकार्यकर्ता उनीसँगै एमालेमा लागेको अनुमान छ । तर, माओवादी नेताहरू भने रायमाझीसँग १० प्रतिशत भन्दा पनी थोरै नेता कार्यकर्ता एमालेमा लागेको दावी गर्छन् । रायमाझीसँगै राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काले पनी सांसद पद त्यागेर एमाले रोजेका छन्। खड्काले गठबन्धनसँग उपनिर्वाचन हारिसकेका छन् भने अब गठबन्धनको सामना गर्ने पालो रायमाझीको आउँदैछ ।
एमालेको बलियो डोरीले पार लाग्लान रायमाझी ?
अर्घाखाँचीमा रायमाझीका लागि एमालेको बलियो संगठन र जनाधार नै जित्ने पक्का डोरी हो। अर्घाखाँचीमा एमाले विभाजनको असर तुलनात्मक रूपमा कम परेकाले उनलाई थप फाईदा भएको छ । नेकपा एसले एमालको जति मत काट्छ त्यो भन्दा बढी माओवादीबाट एमालेमा थपिएको छ । तर, सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा उनको जित सहज छैन । किनकी यहाँ कांग्रेस र एमाले हाराहारीका शक्ति हुन् भने राष्ट्रिय जनमोर्चाको समेत निर्णायक मत छ । अहिले जनमोर्चा पनि सत्ता गठबन्धनमा भएकाले एमाले एकातिर र अन्य दल अर्कोतिर हुँदा अंकगणित रायमाझीको पक्षमा देखिदैन ।
२०७४ सालको आम निर्वाचनमा रायमाझीले माओवादी, एमाले र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेर ५० हजार ८३७ मत प्राप्त गरेर विजयी भएका थिए । प्रतिद्वन्दी कांग्रेसका रामबहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए । रायमाझीले पाएको ५० हजार ८ सय मतमा राजमोको ४ हजार माथी मत पाएका थिए । अर्घाखाँचीमा समानुपातिक मतका आधारमा हेर्ने हो भने एमालेले ३० हजार ४१७ मत प्राप्त गरेर जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले २८ हजार ३६९ मत प्राप्त गरेको थियो भने माओवादीले १४ हजार ९६२ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले ४ हजार ७७१ मत पाएको थियो । अर्घाखाँचीमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले ६९४ मत पाएको थियो समानुपातिकतर्फ । जुन दल अहिले जसपामा रुपान्तरण भइसकेको छ । गठबन्धनलाई यो मत पनि फाइदा हुनेछ ।
२०७४ मा गठबन्धन बनाएर चुनाव जितेका टोपबहादुरलाई हराउन ‘महागठबन्धन’ लाग्ने देखिन्छ । तिन दलको मत पाएर सांसद भएका रायमाझीलाई हराउन पाँच दलिय ‘महागठबन्धन’ बनाएर अँघी बढ्ने देखिन्छ ।
को लड्छ चुनाव रायमाझीसंग ?
चार वर्षको अवधीमा अर्घाखाँचीमा कम्तीमा २० हजार मतदाता थपिएको अनुमान गरेका छन् । थपिएका नयाँ मतदाता कत ढल्कने हुन् त्यो अनुमानकै विषय हो । तर, चार वर्षअघिको समानुपातिक मत हेर्दा सत्ता गठबन्धन बलियो देखिन्छ । माओवादीले पाएको करिब १५ हजार समानुपातिक मतमा रायमाझीसँग गएको माओवादी हिस्साले ५ हजार मत कटाए पनि उनका लागि उपनिर्वाचन फलामको चिउरा बन्ने देखिन्छ ।
उनीसंग चुनावि मैदानमा को आउँछ भन्ने कुराले पनी धेरै अर्थ राख्छ । बराबरको प्रतिस्पर्धा भएको नेपाली कांग्रेसले टिकट पाउने सम्भावना देखिन्छ । यदी त्यसो भयो भने नेपाली कांग्रेसबाट पुष्पा भुसाल, रेवती भुसाल, कमल भुसाल, बिष्णु मुस्कान, डा. मुक्ती श्रेष्ठ, लेखनाथ पोख्रेल मध्ये एक जनाले टिकट पाउने छन् । माओवादीबाट टिकट पाउने अवस्था आए ठाकुर बिक, सुशिला श्रीपाली, राजेन्द्र भुसाल, छमकुमारी खनाल लगायतको नाम अग्रपंक्तीमा देखिन्छ । समाजवादीबाट टिकट पाउने अवस्था आए पिताम्बर भुसाल, रामबहादुर चौहान लगायतका नेताहरुले पाउने छन् । यस्तै जनमोर्चाबाट टिकट पाए सागर केसी, थम्मन केसी, कवी खनाल लगायतका नेताहरु छन् ।
गठबन्धन नै कायम रहे र मत बेईमान भएन भने उम्मेद्वार जोसुकै भएपनी टोपबहादुरको पक्षमा चुनाव देखिदैन ।

अन्य समाचारहरु