दीपेन्द्र पौडेल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं जनगणना आजदेखि शुरु भएको छ ।
जिल्लाभर १२ औं जनगणना आज बिहीवारदेखि शुरु भएको हो । जनगणना मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । अर्घाखाँचीमा राष्ट्रिय जनगणनाका लागि सबै तयारी पुरा भएको जिल्ला जनगणना कार्यालय सन्धिखर्कले जनाएको छ ।
जिल्ला जनगणना कार्यालय अर्घाखाँचीका अनुसार जनगणनाका लागी जिल्लाभर ३ सय गणक खटिएका छन्। जिल्लाका ६१ वार्डहरुमा ३०० जना गणक कर्मचारीहरु परिचालन भएको जिल्ला जनगणना कार्यालयका प्रमुख धनबहादुर बिसीले डट्कमलाई बताए । साथै जनगणनाका लागि ७४ जना सुपरिवेक्षकहरु खटाइएको छ । जनगणनाको लागि यसअँघि नै घरपरिवार सूचीकरण गर्ने काम भईसकेको छ भने गणनाको लागि सबै वार्डहरुमा आवश्यक सामाग्री सहित गणकहरु खटाईएको बिसीले बताए ।
साथै जिल्लाको सन्धिखर्क नगरपालिका तथा भुमिकास्थान नगरपालिका हेर्ने गरी सन्धिखर्कमा, मालारानी गाउँपालिका तथा छत्रदेव गाउँपालिका हेर्ने गरी छत्रगंजमा र शितगंगा नगरपालिका र पाणिनी गाउँपालिका हेर्ने गरी ठाडामा स्थानिय जनगणना कार्यालय समेत स्थापना गरिएको छ ।
यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । यस्तै कोही नछुट्ने र कोही नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य–तथ्य विवरण सहज रुपमा टिपाउन जिल्ला जनगणना कार्यालयका कर्मचारी पोमनारायण कुँवरले आग्रह गरे । जिल्ला जनगणना कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा ४९ हजार भन्दा धेरै घरधुरी रहेको अनुमान गरिएको छ ।

गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिने छ। जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य हुने छन् ।