अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर १०-१२ सम्म चितवनमा हुन गइरहेको दशाैं राष्ट्रिय महाधिवेशनकाे लागि अर्घाखाँची जिल्लामा नेकपा (एमाले) सरगर्मी बढेको छ। दशाैं राष्ट्रिय महाधिवेशनकाे लागि अर्घाखाँची जिल्लाका सबै तहसम्म सरगर्मी बढेको हो।
एमालेको दशाैं राष्ट्रिय महाधिवेशनकाे लागि अर्घाखाँचीबाट प्रतिनिधि छनाैटकाे लागि निर्वाचन समितिले आज निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ।
सार्वजनिक अनुसार निर्वाचन कार्यक्रमको कार्यतालिका निर्वाचन समितिको निर्णय अनुसार उम्मेदवारी दरखास्तकाे लागि स्वयं उम्मेदवार नै उपस्थिति हुनुपर्ने र उम्मेदवारी दर्ता शुल्क रू. २०००/- दुई हजार मात्र निर्धारण गरिएकाे छ । यस्तै पार्टी एकताको भावना र मर्मलाई आत्मसात गर्दै भूगोल क्षेत्र मिलाएर सबै प्रतिनिधिहरु सर्वसहमत रुपमा छनौट गर्नका लागि पार्टीले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खडकाको संयोजकत्वमा कार्यदल नै बनाएर परामर्श तथा छलफल गरिरहेकाले सकभर सबै प्रतिनिधि सहमतिमै छनौट गरिनेछ । यदी अन्तिम प्रयास गर्दापनी सहमति हुन नसकेको अवस्थामा कार्तिक २७ गते मतदान प्रक्रिया मार्फत प्रतिनिधि छनौट गरिने एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले बताउनु भएको छ ।
यस्तै एमालेको दशौ राष्ट्रिय महाधिवेशनका लागि अर्घाखाँची जिल्ला प्रतिनिधि सभा निर्वाचनबाट ४ जना महिला सहित १३ र दलित तर्फबाट १ महिला सहित ३ जना प्रतिनिधि गरि जम्मा १६ जना प्रतिनिधि सहभागी हुनेछन ।
साथै सन्धिखर्क लगायत जिल्लाभरका चोकचोकमा एमालेका स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्थिती देखिन थालेको छ । गाउँगाउँमा पनि नेता, कार्यकर्ता परिचालित भएका छन्।
उता गत कार्त्तिक २३ गते मंगलवार एमाले जिल्ला कमिटी बैठकले मंसिर १०,११ र १२ सम्म चितवनमा हुन गइरहेको पार्टीको आसन्न १० दशौ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अर्घाखाँची जिल्लाबाट कम्तीमा चार हजार पार्टी सदस्यहरुलाई सहभागी गराउने निर्यण गरेको थियो । जस अनुसार आफ्नै लगानीमा छत्रदेव गाउँपालिकाबाट ४०० जना, मालारानी गाउँ पालिकाबाट ९०० जना,पाणिनी गाउँपालिका बाट ४०० जना, भुमिकास्थान नगरपालिका बाट ५०० जना,सन्धिखर्क नगरपालिका बाट ११०० जना, शितगङ्गा नगरपालिकाबाट ७०० जना र जनसंगठनहरुबाट १०० जना सहभागी गराउने निर्णय गरेको छ।

महाधिवेशनका लागी देशभर एकै दिन प्रतिनिधि छनौट गर्ने पार्टी केन्द्रको निर्णय अनुसार अर्घाखाँची जिल्लामा पनि कार्तिक २७ गते नै महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न गर्नका लागि बिजय खत्री र बिष्णु बेल्बासे प्रमुख निर्वाचन आयुक्त भएको २ वटा निर्वाचन कमिटी गठन गरेको छ । प्रतिनिधि छनौटका सन्दर्भमा आवश्यक परामर्श तथा सहजीकरण गर्नका लागि पार्टी केन्द्रिय सदस्य एव अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका,पार्टी केन्द्रिय सदस्य बोम बहादुर बिश्वकर्मा समेतका नेताहरू रहेको कार्यदल समेत गठन गरेको छ ।
