सरकारलाई समर्थन गरेका साना १२ दलले संविधानसभाको म्याद थप्न माओवादीलाई आग्रह

संविधानसभामा प्रतिनिधित्व गर्ने साना १२ राजनीतिक दल सम्मिलित संसदीय दलको बैठकले संविधानसभाको म्याद थप्ने विधेयकमा प्रस्तावमा साथ दिन एकीकृत नेकपा -माओवादी) सँग आग्रह गर्‍यो ।


बिहीबार सिंहदरबारस्थित नेकपा -संयुक्त)को संसदीय कार्यालयमा बसेको सो बैठकले हालसम्म सहमति नभएका विषयमा आपसी विश्वासका साथ सहमति कायम गर्दै आगामी दुई/तीन हप्ताभित्र समयसीमा कायम गरी संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।


यसैगरी सो बैठकले हालसम्म गरिएका सम्झौतालाई अब बन्ने संयुक्त सरकारले कार्यान्वयन गर्नुपर्ने पनि निर्णय गरेको छ ।


यसअघि सो बैठकमा नेपाली काँग्रेस, नेकपा -एमाले), मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टीका प्रतिनिधिसँग पनि संविधानसभाको म्याद थप र दिगो शान्ति स्थापना गरी मुलुकलाई राजनीतिक निकास दिने विषयमा छलफल भएको चुरेभावर एकता पार्टीका अध्यक्ष एवम् सभासद् केशव मैनालीले जानकारी दिनुभयो ।
सो बैठकमा नेकपा -माले), राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, चुरेभावर एकता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, समाजवादी प्रजातन्त्र जनता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी -आ), दलित जनजाति पार्टीलगायतका प्रतिनिधिको सहभागिता थियो ।