जुम्लाका सम्पूर्ण राजनीतिक दलले शैक्षिक क्षेत्र बन्द नगर्ने लिखित सहमति जनाएका छन्।
सहमति
जुम्लामा भएको प्रथम शैक्षिक सम्मेलनमा सबै दलहरुका प्रतिनिधिहरूले स्कूल बन्द नगर्ने सहमति व्यक्त गरेका थिए।
शिक्षा क्षेत्रमा निकै पछि परेको जुम्ला पटक पटक हुने बन्दले थप मारमा पर्दै आएको छ।
यस्तो मारबाट बचाएर जिल्लालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन सघाउन पुगोस् भनी बन्दलाई बन्द गर्ने निर्णय गरिएको दलहरुको भनाइ छ।
नेपालका स्कूलहरुलाई शान्ति क्षेत्र बनाउने आवाज धेरै ठाउँमा पटक पटक उठेको छ।
तर विभिन्न बहानामा दलहरुले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न स्कूल, कलेजलाई तारो बनाउन छोडेका छैनन्।
बुलन्द
ससाना विवादमा पनि स्कूल बन्द गर्ने फेसन जस्तै बनिसकेको छ।
यो फेसनको विरुद्ध आवाज बुलन्द गरेको छ कर्णाली अंचलको जुम्लाले।
जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जुम्ला जस्तो दुर्गम जिल्लाको यो उदाहरणबाट अरु जिल्लाले पनि पाठ सिक्न सक्ने बताए।
भौगलिक विकटताले गर्दा यातायातको ठूलो असुविधा भोगिरहेको जुम्लामा शैक्षिक क्षेत्रमा बन्द नगर्ने दलहरुको प्रतिबध्दतापछि यस भेगमा शिक्षाले फड्को मार्न सघाउ पुग्ने आशा त्यहाँका वासिन्दाले गरेका छन्।



