गैर कानुनी कामदार नियन्त्रण गर्नका लागि मकाउमा नेपालीका लागि आगमन भिसा बन्द

पूर्ण बस्नेत, हङकङ, जेठ २० –  मकाउ सरकारले नेपालीका लागि आगमन भिसा बन्द गर्ने निर्णय गरेको छ। गैर कानुनी कामदार नियन्त्रण गर्नका लागि नेपाल लगायत चार एसियाली र एक अफ्रिकी मुलुकलाई एक महिनापछिबाट लागू हुने गरी आगमन भिसा बन्द गरिएको मंगलबार प्रकाशित सरकारी सूचनामा जनाइएको छ।

 

आगमन भिसा रोक्ने निर्देशनमा चीनको विशेष प्रसाशनिक क्षेत्र मकाउका कार्यकारी प्रमुख फेमण्डो चुइसाई वनले हस्ताक्षर गरेका छन्। नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम र नाइजेरियाका नागरिकले मकाउ प्रवेश गर्नका लागि सम्बन्धित देशका चिनियाँ दूताबासबाट भिसा लिनु पर्ने निर्देशनमा छ। जुलाई १ बाट यो व्यवस्था लागू हुने बताइएको छ।

निर्देशनमा आगमन भिसा रोक्नु पर्ने कुनै कारण खुलाइएको छैन। तर बढ्दो गैर कानुनी कामदार र लागू पदार्थको कारोबारलाई नियन्त्रण गर्न यस्तो कदम चालिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै मकाउ पोष्ट दैनिकले बुधबारको अंकमा जनाएको छ। रक्षा सचिव चेओङ कुसले केही महिनाअघि नै आगमन भिसा रोक्ने संकेत गरेपनि कुन कुन देशलाई रोक्ने भन्ने खुलाएका थिएनन्।

मकाउको श्रम मामिला ब्यूरोले फेब्रुअरीसम्म नेपाली कामदारको संख्या १८१४ भएको जनाएको छ, जो अधिकांश सुरक्षा गार्ड र डेढ सय जति घरेलु कामदार छन्। तर मकाउमा कामदार ल्याउने गोर्खाज एकता इन्टरनेशनलका निर्देशक त्रिलोक गुरुङका अनुसार दलालको फन्दामा परेर मकाउ आइपुगेका थप दुई सय नेपाली गैर कानुनी रुपमा त्यहाँ बसिरहेका छन्।

आगमन भिसा रोक्ने मकाउ सरकारको निर्णयले त्यहाँ कार्यरत नेपाली कामदार र भ्रमण गर्न चाहने व्यक्तिहरूलाई प्रत्यक्ष असर पुर्‍याउने छ। एक महिना सम्मको आगमन भिसाको व्यवस्थाले सिधै मकाउ आएर काम खोज्न वा घुम्न जान सहज थियो। मुख्यभूमी चीन र हङकङ आउने धेरै नेपाली मकाउ घुमेर फर्किन्थे भने दिनको दुई सय हङकङ डलर (करिब दुई हजार रुपैयाँ) तिरेर भिसा अवधी भन्दा बढी समय बस्न सकिने भएकाले कामको खोजीमा आउनेलाई काम नपाउन्जेल बस्न सहज थियो। तर अब मकाउ भ्रमण गर्न चाहनेले काठमाडौँको चिनियाँ दूताबास वा चीनको गोन्झाओ र हङकङबाट भिसा लिनु पर्नेछ। कामका लागि आउन चाहनेहरू काठमाडौँबाट भिसा लिएर मात्र आउन सक्नेछन्।

गुरुङका अनुसार नयाँ व्यवस्थाले मकाउमा कामदार ल्याउन रोकिन्न तर पहिला जस्तो सहज पनि हुँदैन। उनी भन्छन् “यो निर्णयले कामदार ल्याउन अप्ठेरो पर्छ, घुम्न जान कठिन हन्छ र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धमिलो हुन्छ।”

एक महिना अघि मई दिवसको अवसर पारेर काममा स्थानीयलाई प्राथमिकता दिनु पर्ने माग गर्दै मकाउबासीले प्रदर्शन गर्दा प्रहरीसँग भीडन्त समेत भएको थियो। सरकारले उक्त घटनालाई पनि ध्यानमा राखेर विदेशी कामदारको संख्या घटाउन यस्तो निर्णय गरेको हुनसक्ने अनुमान गर्दै हङकङ र मकाउका लागि महावाणिज्य दूत विनोद उपाध्यायले यसबारे मकाउ सरकारसँग कुटनीतिक तहमा कुराकानी गरिने बताए। उनका अनुसार सामान्य पासपोर्टलाई आगमन भिसा रोकिए पनि रातो पासपोर्टलाई रोकिएको छैन।

पाँच वर्ष अघि हङकङ सरकारले यसैगरी नेपाल, पाकिस्तान, नाइजेरिया लगायतका देशहरूलाई आगमन भिसा बन्द गरेको थियो। नाइजेरियाले तत्काल पहल गरेर एक महिनाभित्रै भिसा खुलाएको थियो। तर नेपालले कतिपय प्रयत्नका बाबजुद् अहिलेसम्म हङकङमा आगमन भिसा खुलाउन सकेको छैन।