चितवनमा विषालु जंगली च्याउ खाएर मर्नेको संख्या सात पुग्यो, सवैजना एकै घरका

– रमेशकुमार पौडेल,

 

चितवन – विषालु जंगली च्याउ खाएर बिरामी परेका चितवन काम्दा गाउँका थप एकजनाको बिहिबार राति निधन भएको छ। भरतपुर अस्पतालको आईसीयूमा उपचार गराइ रहेका पूर्णबहादुर चेपाङको मृत्यु भएको हो। यो सहित विषालु च्याउ खाएर मर्नेको संख्या सात पुगेको छ। सवैजना एकै घरका हुन्।

 

लोथर गाविसमा पर्ने विकट पहाडी गाउँ काम्दाका ६५ वर्षीय बाबुराम चेपाङको परिवारका आठजानले गएको शुक्रबार राती च्याउ पकाएर खाएका थिए। बाबुराम सहित गाउँमा तीनजनाको मृत्यु भएको हो भने अरु चारजनाको सपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो। च्याउ खाएर विरामी परेका मध्ये एकजना जीतबहादुर चेपाङको मात्रै अहिले काठमाडौंमा उपचार भएरहेको छ।


उपचारमा संलग्न चिकित्सक डा. वीजयराज पौडेका अनुसार उनीहरुले एकदमै विषालु च्याउ खाएका थिए। उपचारका लगि आउन ढिला गरेकाले विषको असरले कलेजोमा नराम्ररी क्षति पुगेको थियो। मर्ने जति सवैको कलेजोमा असर परेको उनले जानकारी दिए। शुक्रबार च्याउ खाएर विरामी परेपछि दुईजान सोमबार साँझ र चारजना मंगलबार बिहान मात्रै उपचारका लागि अस्पताल आइ पुगेका थिए। त्यति बेलासम्म गाउँमा तीनजनाको निधन भइसकेको थियो। गाउँबाट अस्पताल आउन मात्रै झण्डै २४ घण्टा लागेको थियो। मर्ने मध्ये तीन पुरुष तथा दुई बालिका सहित चार महिला छन्।


त्यस्तै चितवनको पदमपुरमा विषालु च्याउ खाएर थप तीनजना विरामी परेका छन्। बिरामी पर्नेमा मेघीया महतो र उनका छोराहरु लक्ष्मण र सुरज छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।