भारतको मेघालयमा नेपालीभाषीको हत्या र ज्यादती बढिरहेको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरुले निन्दा गरेका छन्। राजधानीमा गरिएको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका राजनीतिक दलहरुले भारतसामु आत्मसमर्पण गर्ने प्रवृत्तिले गर्दा भारतको मेघालयमा नेपालीभाषीमाथि ज्यादती भएको बताउनुभयो।
राणा कालदेखि नै भारतको विरोध गर्न नसक्ने प्रवृत्तिका कारण यसअघि पनि यस्तो घटना भएको भन्दै उहाँले नेपालका राजनीतिक दलहरु भारतका सामु बोल्न नसक्नाले गर्दा यस्तो समस्या आइरहने बताउनुभयो।
वाइसिएल नेपालका अध्यक्ष गणेशमान पुनःले भारतीय योजनाबाट नै नेपालीमाथि अन्याय भएको भन्दै यो कुरा नेपालको राष्ट्रियतासँग जोडिएको बताउनुभयो।
नेपालको सरकार भारतीय आदेशमा यो घटनामा चुप लागेर बसेको आरोप लगाउँदै उहाँले सरकारले भारतको सामु आत्मसमर्पण गरेको बताउनुभयो।
पूर्व राजदूत हिरन्यलाल श्रेष्ठले यो घटनाका बारेमा गैर आवासीय नेपालीले पनि आवाज उठाउनुपर्ने बताउँदै यसका विरुद्धमा संयुक्त राष्ट्र संघसम्म जानुपर्ने जोडदिनुभयो। भारतको मेघालय राज्यमा दस जना नेपालीभाषीको हत्या भइसकेको छ भने ५ हजार विस्थापित भएको बताइएको छ।