विराटनगर, जेष्ठ २८ – तरलताको समस्या देखाउदै वाणिज्य बैंकहरुले विगत ८-९ महिना देखि कर्जा प्रवाह नगर्दा व्यापारीक र औधोगीक क्षेत्र धराशायीको स्थितिमा पुगेको उद्योगी व्यवसायीले गुनासो छ ।
राष्ट्र बैंकले पुर्नकर्जा आब्हान गरेपनि वाणिज्य बैंकहरुले वास्ता नगरेपछि शुक्रवार मोरङ व्यापार संघले प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र पठाई वाणिज्य बैंकहरुलाई कर्जा प्रवाहका लागि दवाव दिन आग्रह गरेको छ ।
बैंकहरुले लगानी नगर्दा उद्योग व्यवसाय धराशायी भएको र पूँजी लागत पनि बढेको छ । संघका वरिष्ट उपाध्यक्ष तुलसीराम अग्रवालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा २७ वटै नीजि वाणिज्य बैंकहरुले ऋण प्रवाहमा आठ प्रतिशतवाट वढाएर १६ प्रतिशतसम्म ब्याजदर कायम गरेपनि नयाँ कर्जा प्रवाह नगर्दा उद्योग व्यवसाय संकटमा परेको उल्लेख गरिएको छ ।
बैंकहरुले नयाँ लगानी नगरी पुरानो लगानीमा हवात्तै ब्याज दर दोब्बर वनाउदा उत्पादन लागत बढेको छ । बृद्धि भएको ब्याज दरमा भएपनि ऋण लिनखोज्दा समेत बैंकले दिदैन । सम्झौता भइसकेको योजनामा समेत कर्जा प्रवाहा नगर्दा पाइप लाइनमा भएका योजना अगाडि बढन नसकेको ज्ञापनमा उल्लेख छ ।
राष्ट्र बैंकले तरलताको समस्या कम भएको उल्लेख गरेपनि बैंकहरुले औधोगीक क्षेत्रमा लगानी नगर्दा उत्पादनमा ह्रास आउनुका साथै उत्प्ादन लागत बढेर उद्योगको कार्य योजना नै प्रभावीत वनेर उद्योग नै धराशायीको स्थितिमा पुगेको उल्लेख गर्दै ज्ञापनपत्रमा मुलुकको अर्थतन्त्र नै तहसा-नहस हुन पुगेको यस्तो प्रतिकुल वातावरणमा प्रभावकारी बैंकिङ तथा वित्तिय नीति ल्याउन सरकार र राष्ट्र बैंकलाई आग्रह गरिएको छ ।



