बजेट अधिवेशनको तयारीका विषयमा प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धन दलहरुसँग परामर्श सुरु गर्नु भएको छ। प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले अवरोध पुर्याउन सक्ने आशंकामा सरकारले अधिवेशन बोलाउँन सकेको छैन। असार पाँच गतेभित्र संसदको वर्षे अधिवेशन नडाकिए बजेट पारित गर्न नियम निलम्बन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले परामर्श सुरु गर्नुभएको हो। गठबन्धन दलका नेताहरुले मुख्य दलहरुका बीच सहमति जुट्ने सम्भावना कम रहेकाले दश गते बजेट अधिवेशन बोलाउन र पन्ध्र गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुझाव दिएका छन्।
बैठकमा प्रधानमन्त्री नेपालले समयमै सहमति जुटाउन नसक्ने हो भने नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्न सरकारमा सहभागि र सरकारलाई समर्थन गर्ने दलका नेताहरुलाई आग्रह गर्नुभएको सहभागि नेताहरुले जानकारी दिए। बैठकमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना लगायत बार्ह दलका नेताहरु सहभागि थिए। बैठकमा काँग्रेस र एमालेका नेताहरुको भने सहभागिता थिएन।
आजै प्रधानमन्त्री नेपालले बजेट अधिवेशन तयारीका विषयमा मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग समेत परामर्श गर्नुभएको थियो। व्यवस्थापिका संसदको कार्य सञ्चालन नियमावली अनुसार सरकारले बजेट पेश गर्नुअघि संसदमा बजेटका प्राथमिकता र सिद्वान्तबारे छलफल गराउनुपर्छ।