बुटवल–नारायणगढ सडक विस्तारलाई तीव्रता दिन आग्रह

रुपन्देही ।  निर्माणको काममा ढिलाइ भएको गुनासो आइरहेको बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीव्रता दिन बुटवल उपमहानगरपालिकाले आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम) का प्रमुख प्रदीपराज शाक्य, परामर्शदाताहरू शुभम सैजु र सुरेश विष्टसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट शुरु गर्न आग्रह गर्नुभयो ।

प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको बस्ती र व्यवसाय प्रभावित भएको, शहर कुरूप भएको लगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराउनुभयो ।

“उति बेला बुटवलबाट सडक विस्तारको काम हुन्छ भनिएको थियो, तर सडक विस्तारको काम भने जसरी शुरु हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यसमा आयोजना कार्यालयले बुटवल क्षेत्रको अवस्थालाई बुझेर सोहीअनुसार विस्तारको काम अघि बढाउनुस्, हामी कसरी सहकार्य र सहयोग गर्नुपर्ने हो, हामी तयार छौँ ।”

आयोजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचन लगत्तै सडक विस्तारलाई अघि बढाउने गरी तयारी भएको बताउनुभयो ।

बुटवल–नारायणगढ सडक निर्माण भएको ५७ वर्षपछि फराकिलो गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो ।

अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।

२०७५ चैत ८ गते बुटवलबाट शिलान्यास भएको सडक कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको आयोजना प्रमुख शाक्यले बताउनुभयो ।

गैँडाकोटदेखि दाउन्ने सम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।

अन्य समाचारहरु