मौलाउँदो भ्रष्टाचार, कमजोर पूर्वाधार र दोहोरिने उम्मेदवारका कारण संसदीय निर्वाचनमा २०४८ यताकै सबैभन्दा कम सहभागीता ,न्यून ६१ प्रतिशत मतदान

काठमाडौँ — संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छ । निर्वाचन आयोगले आइतबार साँझ दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।

आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका छन् । ०४८ सालपछि भएका संसदीय निर्वाचन (संविधानसभासमेत) मध्ये पनि सबैभन्दा कम हो । ०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत र ०६४ को संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मतदान भएको थियो ।

अहिले भएको मतदान ७ महिनाअघि भएको स्थानीय निर्वाचनभन्दा पनि झन्डै ९ प्रतिशत कम हो । स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा ७०.९६ प्रतिशत अर्थात् एक करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो ।

यसपटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेसमा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारीअनुसार वाग्मतीमा ६१.५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३, सुदूरपश्चिममा ५९.७७ प्रतिशत मतदान भएको छ । हिमाली जिल्लाको विवरण अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझ ८ बजेको पत्रकार सम्मेलनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिए पनि आयोगको प्रणालीमा ५९.७५ प्रतिशत मात्रै मतदान भएको विवरण थियो । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको हो,’ थपलियाले भने, ‘यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’ कान्तिपुरले उल्लेख गरेको छ।