रेशम चौधरी रिहाइ नभए प्रदेश सभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

 

 

 

 

धनगढी- जेलमा रहेका रेशम चौधरी रिहाइ नभए माघी (१ माघ)पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।

 

टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ नभए माघीपछि प्रदेश सभा बैठक अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।

प्रदेश सभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा  बोलेका चौधरीले भने, ‘माघी अगाडि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ हुनु पर्दछ, त्यसो नभए माघीपछि प्रदेश सभा चल्न दिने छैनौं ।’

उनले थारू आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । त्यसैले टिकापुर घटनालाई राजनीतिक रूपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारू समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’

देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलन जस्तै थारूको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोलन भएको उनले बताए ।