राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं। मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच-पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ। मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

मुलुकमा २०६२-६३ को आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास भएको हो। राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

images

सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन्। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ। विगतका अरु निर्वाचनका तुलनामा यो निर्वाचन अझ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित र व्यवस्थित ढङ्गले सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

images

उनले भने, “निर्वाचनका सबै प्रक्रिया पूरा गरेरपछि यहाँ कायम गरिएको दुई मतदान केन्द्रमा यही फागुन २५ गते १० देखि ३ बजेसम्म मतदान हुनेछ। सोही दिन साँझ ७ बजेभित्र मत परिणाम प्रकाशित गरिसक्ने आन्तरिक तयारी गरिएको छ ।”

images

उम्मेदवारले पदको गरिमालाई कायम गरेर सोहीअनुरुप प्रचारप्रसारलगायतका कार्यक्रमलाई व्यवस्थित गर्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ।