भारत लैजान लागिएका ६ नाबालकसहित ८ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा

बाँके (नेपालगन्ज) – भारत लैजान लागिएका ६ नाबालकसहित ८ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर र चितवन जिल्लाका ६ देखि १६ वर्षसम्मका नाबालकलाई भारतको पन्जाबतर्फ लैजाँदै गर्दा रुपैडियास्थित भारतीय भन्सार अधिकारीहरुले पक्डेर रुपैडिया प्रहरी थानालाई बुझाएको हो । अङ्गद नामका चालकसहित एउटा जिप पनि नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडाका अर्जुन परियार, राजेन्द्र परियार, कान्छा घिमिरे, राजन परियार, राजकुमार परियार  र चितवनका सगुन परियार रहेका छन्  ।

पन्जाब मुहालीका कुमार पुरीले मम पसलमा काम गराउनका लागि बाबुआमालाई पैसा तिरेर ती किशोरहरुलाई लिएर आएको बताएका छन् ।

पक्राउ परेका बालकहरुले पनि आर्थिक अभावका कारण कमाउन जान लागेका बयान दिएका छन् । पक्राउ परेकाहरुलाई अभिभावक नआउन्जेल माइती नेपालको जिम्मामा राखिएको माइती नेपाल बाँकेका संयोजक केशव कोइरालाले बताए । रासस