आगामी मंसिरमा काठमाडौमा जलबायू परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौ । आगामी मंसिरमा काठमाडौमा जलबायू परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । चालिस देशका चार सय बढी विज्ञ प्रतिनिधि सहभागी हुने सो सम्मेलन आगामि मंसिर २६ देखि २८ गते सम्म राजधानीको कमलादीमा रहेको प्रज्ञा भवनमा हुने बुधवार एक पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।


संयूक्त राष्ट्रसंघले सन् २०१०लाई अन्तर्राष्ट्रिय जैविक विविधता वर्षको रुपमा घोषणा गरेको सन्दर्भमा त्यसलाई सार्थक बनाउन त्रिवी बनस्पति शास्त्र केन्द्रीय विभाग, बन तथा भू-संरक्षण मन्त्रालय, बातावरण मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयको संयूक्त आयोजनामा सम्मेलन गर्न लागिएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।


हिमालय क्षेत्रमा जैविक विविधता, जीविकोपार्जन तथा जलबायू परिवर्तन भन्ने शिर्षकमा आयोजना हुन लागेको सम्मेलन आयोजना गर्न यूरोपियन यूनियन, ईसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अनुसन्धान परिषद नर्वे, विश्व विद्यालय अनुदान आयोग, वर्खेन विश्वविद्यालय नर्वे र विश्व बन्यजन्तु कोषले सहयोग गरेको त्रिवी बनस्पति शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भावी पिढीकोलागी हिमाली जैविक विविधता संरक्षण गरौ भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा विशेष गरेर जैविक विविधता, जलवायू परिवर्तन र हिमालय क्षेत्रको प्राकृतिक स्रोत तथा तिनका दिगो उपयोगको विषयमा छलफल हुने बताईएको छ ।


सम्मेलनमा जैविक विविधता संरक्षणका लागी राष्ट्र संघ महासभाले तय गरेको सन् २०१० सम्मको लक्ष्य प्राप्तिमा नेपालले  हासिल गरेको उपलब्धिको मुल्याङकन समेत हुने छ ।


पत्रकार सम्मेलनमा श्रेष्ठले अहिलेकै अवस्था कायम रहे सन् २०९० सम्ममा पृथ्विको तापक्रम बढेर ४.७ डिग्री सेल्सीयसको दरले बृद्धि हुने र यो संसारकोलागी भयावह हुने स्थीति रहेको तथ्याङ प्रस्तुत गर्नु भएको थियो ।
पत्रकारसम्मेलनमा बोल्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालमा पत्रकारिता राजनीतिमा केन्द्रीत रहँदा जलवायू परिवर्तन जस्ता महत्वपूर्ण विषय ओझेलमा परेको भन्दै नेपाली सन्चारमाध्यमले जलबायू परिवर्तनलाई महत्व दिएर जनचेतना जगाउनु पर्ने धारणा राख्नु भयो । उहाँले जलबायू परिवर्तनको असर नेपाली समाजमा महसुस हुन थालेको उल्लेख गर्दै समयमै सचेतता आवश्यक रहेको बताउनुभयो ।


पत्रकार सम्मेलनमा नाष्टका बैज्ञानिक दयानन्द बज्राचार्यले नेपालमा हिमालय र पहाडले भरिएको मुलुक भएकोले जलवायू परिवर्तनको प्रभाव पहिला नेपालमै पर्ने भन्दै यो विषयलाई नेपाल र नेपालीले सचेतता पूर्वक लिनु पर्ने समय आईसकेको धारणा राख्नु भयो ।


बर्खेन विश्वविद्यालयका प्राध्यापक ईर्नष्ट नर्डटभेईटले जैविक विविधताको संरक्षणकोलागी सामाजिक र आर्थिक विकास आवश्यक पर्ने बताउनुभयो । उहाँले भविष्यको पुस्ताको सुरक्षासहितको विकास आवश्यक पर्ने धारणा राख्नु भयो ।
उहाँले विकासलाई भविष्यको पुस्ता र बर्तमान पुस्ताको आवश्यकतालाई संयोजन गरेर अगाडि बढाउनु पर्ने आवश्यकता पनि औल्याउनुभयो ।


वातावरण मन्त्रालयका सचिव गणेशराज जोसीले जैविक विविधताको संरक्षणकोलागी मन्त्रालयले प्रभावित क्षेत्रको पहिचान गरि काम थालेको जानकारी दिनु भयो । सचिव जोसीले प्रभावित क्षेत्रमा अनुसन्धान पछि आवश्यकताको पहिचान गरि तिनैलाई लक्षित गरि कार्यक्रम सन्चालन गरिने समेत बताउनु भयो ।