गैर-आवासीय नेपाली सङ्घ (एनआरएन)ले संविधानसभा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति र संवैधानिक समितिका सभासद् समक्ष नयाँ संविधानमा गैर-आवासीय नेपालीलाई दोहोरो नागरिकता दिने व्यवस्था गर्न आग्रह गरेको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा सङ्घले गैर-आवासीय नेपालीलाई विदेशी राहदानी लिएका भरमा नेपाली नागरिकता खारेज हुने वर्तमान प्रावधान संशोधन गर्न समेत सभासद्हरुको ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष देवमान हिराचनको अध्यक्षता, संविधानसभाका १५ जना सभासद्को सहभागितामा भएको सो कार्यक्रममा सङ्घका कार्यकारी निर्देशक होमराज आचार्य, सङ्घका संरक्षक भीम उदास, महासचिव रतनकुमार झालगायतको उपस्थिति थियो ।
छलफलमा सङ्घले नयाँ संविधानमा गैर-आवासीय नेपालीले विदेशी राहदानी लिए पनि नेपालको नागरिकता त्याग्न नपर्ने व्यवस्था कानुनमा स्पष्ट उल्लेख हुनुपर्ने माग गर्नुको थियो । साथै, सभासद्ले सो विषयलाई संसदमा सकारात्मक रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको वर्तमान राजनीतिक गतिरोधबाट गैर-आवासीय नेपाली चिन्तित हुँदै नेपाली जनताले आफ्नो अमूल्य मत दिएर पठाएका प्रतिनिधिलाई छिटो सहमति कायम गरी गतिरोध अन्त्य गरी प्रगतिको बाटो खोल्न अनुरोध गरे ।
सभासद् तथा संविधान विज्ञबाट दोहोरो नागरिकताको अवधारणा समयसापेक्ष र आवश्यक विषय भएको निक्र्यौल गर्दै गैर-आवासीय नेपालीबाट नेपाल सरकारलाई बुझाएको अवधारणापत्रमा विशेष ध्यान दिने र संसदीय बहसमा सकारात्मक कुरा उठाउने बचत दिनुभएको सङ्घले जनाएको छ ।
गैर-आवासीय नेपाली परिचयपत्रसम्बन्धी मस्यौदामा धेरै अधिकार दिइएकाले त्यसबाट गैर-आवासीय नेपालीका धेरै माग सम्बोधन हुन सक्छन् भन्ने विचार केही सभासद्ले राख्नुभएको थियो ।



