सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले सङ्घीयताका सन्दर्भमा मुलुकलाई नै कमजोर पार्ने किसिमले अपव्याख्या बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।रेडियो जनकपुरको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले मिथिलाका भाषा, संस्कृति नेपाली सङ्घीयताको सबैभन्दा बलियो आधार भएको तथ्य प्रस्तुत गर्दै मिथिलाका भाषा, संस्कृति, माटोको गरिमासँग खेलबाड कसैले पनि गर्न नहुने धारणा राख्नुभयो ।
विगतमा मिथिलाको सङ्घीयताको महत्वपूर्ण आधार जनकपुर भएको चर्चा गर्दै उहाँले सङ्घीयतालाई बलियो बनाउने कार्यमा सबै पक्षलाई एकजुट हुन आग्रह पनि गर्नुभयो । उहाँले अहिले नेकपा -एमाले र नेपाली काँग्रेस प्रधानमन्त्रीको पदका खेलमा नलागेर शान्ति प्रक्रियालाई नयाँ चरणमा पुर्याउने सहमतिको प्रयासमा लागेको पनि स्पष्ट गर्नुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो- तराईका सशस्त्र समूह राजनीतिक चरित्रका हुँदै होइनन् उनीहरु रातारात आफूलाई आर्थिकरुपले सबल बनाइ छिमेकी मुलुकमा सम्पत्ति संरक्षण गर्ने आपराधिक गतिविधि गर्ने समूह हुन् ।उहाँले तराईका सशस्त्र समूहले तराईका धरतीपुत्रलाई नै मारेर उनीहरु कसका लागि लडेका हुन् भन्ने प्रश्न गर्नुभयो ।
रेडियो जनकपुरका अध्यक्ष शीतल साहको अध्यक्षतामा भएको सो कार्यक्रममा सभासद् शत्रुघन महतो, पत्रकार राजेश्वर नेपाली, नेपाल पत्रकार महासङ्घका धनुषा सभापति उमेश साहले तराईको पत्रकारिता जोखिमपूर्ण बन्दै गएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।



