सर्लाहीमा विषाक्त रक्सी पिउँदा चारको मृत्यु / दोलखा, पर्वत र स्याङ्जामा फरक फरक घटनामा परी तीनको मृत्यु / पर्वतमा पानी लगाउने कुलोमा खसेर मृत्यु / स्याङ्जामा भिरबाट लडेर मृत्यु

सर्लाही । विषाक्त रक्सी पिउँदा सर्लाहीको बबरगंज र किसनपुर गाविसमा मृत्यु हुनेको संख्या चार पुगेको स्थानीयबासीले बताएका छन् ।


गए राती रक्सी पिएको केही समयपछि नै विरामी भएका किसनपुर गाविस ८ का जयकुमार राय र उहाँकी श्रीमती गोलिया देवी मण्डल, बबरगंज गाविस ८ का मन्दुक सहनी र किसननपुर १ का मलभोगियादेवी महराको मृत्यू भएको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।


जयकुमारको जिल्ला अस्पताल मलंगवामा उपचारका लागि लैजाने क्रममा र गोलियादेविको अस्पतालमा उपचारका क्रममा तथा मन्दुकको मलंगवामा रहेको एक निजी स्वास्थ्यसंस्थामा र मलभोगियाको घरमै मृत्यु भएको उनीहरुको भनाइ छ ।


रक्सी पिएर विरामी भएका स्थानीय रुपलाल रायलाई उपचारका लागि विरगंज लगिएको इलाका प्रहरी कार्यालय इश्वरपुरले जनाएको छ । बबरगंज गाविस ६ विर्ता वजारका भट्टी संचालक स्थानीय  महम्मद ईसालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान जारी रहेको सर्लाहीका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताउनुभयो ।


छुट्टाछुट्टै घटनामा तीनको मृत्यु


काठमाडौ । दोलखा, पर्वत र स्याङ्जामा फरक फरक घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् ।  दोलखाको झ्याँकु गाविसको गर्दिङमा अरिकलले चिलेर १ जनाको मृत्यु भएको छ ।


शुक्रबार दिउँसो वनमा चौपाया चराउँदै गर्दा अरिंगालले टोकेपछि गम्भीर अवस्थामा स्थानीय उपस्वास्थ्य चौकीमा उपचारको क्रममा ८८ वषिर्या मानकुमारी  खडकाको मृत्यु भएको हो ।


नासुको कुलोमा खसेर मृत्यु


पर्वत । जिल्ला मालपोत कार्यालय पर्वतमा कार्यरत नायब सुब्बा बिष्णु शर्मा लामिछानेको शुक्रबार साँझ खेतमा पानी लगाउने कुलोमा खसेर मृत्यु भएको छ ।


कार्यालयबाट कटुवाचौपारी गाविस -२ स्थित घर फर्कदै गर्दा कटुवाचौपारी -४ मा पर्ने आठबिसेमा कुलोमा खसेर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेका कारण पानीमा खसेको हुनसक्ने अनुमान गरिएको छ ।


भिरबाट लडेर स्याङजामा एकको मृत्यु


स्याङ्जा । स्याङजाको आरुचौर गाविस वडा ४ का २८ वर्षिय हिराबहादुर विकको भिरबाट लडेर ज्यान गएको छ । विकको घर नजिकै रहेको भिरवाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।