डोल्पाबाट नेपालगञ्ज आएको तारा एयरको विमानभित्र एक यात्रुको मृत्यु

बाँके / नेपालगञ्ज – डोल्पाबाट नेपालगञ्ज आएको तारा एयरको विमानभित्र शनिवार एक यात्रुको मृत्यु भएको छ ।

डोल्पा पहाडा गाविस-१ का ६५ वर्षीय शक्तिराम रोकायाको विमानभित्र मृत्यु भएको हो ।

रोकाया केही दिनअघिदेखि बिरामी रहेकाले उपचारका लागि नेपालगञ्ज आउँदै गर्दा उनको विमानभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच बाँके रझेना-३ बेलनपुरमा भे १ ख २०५२ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पाँच वर्षीया जीनादा खाँको घटनास्थलमा नै मृत्यु भएको छ । घटनापछि गाडी चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७३३७ नम्बरको बस कोहलपुर-कुसुम सडकखण्डअन्तरगत सिक्टा नजिकै पल्टिदा १३ यात्रु घाइते भएका छन् ।

घाइतेहरूको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रासस