नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले तीन दलको जतिसुकै गोप्य बैठक बसेर सहमति गर्न खोजे पनि दलहरुलाई दिल्लीले संकेत नदिएसम्म सहमति नहुने बताउनुभएको छ । अध्यक्ष विजुक्छेले शुक्रबार भक्तपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै तीन दलको जतिसुकै गोप्य बैठक बसेर सहमति गर्न खोजे पनि भारतको निर्देशन विना निकास संभव नभएको बताउनुभयो ।
उहाँले तीन दलले जुन सुकै होटलमा गोप्य बैठक बसेपनि निकासका लागि दिल्लीको निर्देशन चाहिने बताउनुभयो । पधानमन्त्री बन्न चाहने व्यक्तिले सरकारमा गएपनि गर्ने नीतिको बारेमा भारतलाई जानकारी दिनुपर्ने संस्कार भएकाले भारतले सरकार बनाउन दिने ठोकुवा गर्नुभयो । अध्यक्ष विजुक्छेले भारतका कारण सरकार गठन र बजेट आउन ढिलाई भएको आरोप लगोदै भारतले सरकार गठन र बजेट आउन रोकेको आरोप लगाउनुभयो ।
भारतको निर्देशन बिना नेपालले केही गर्न नसक्ने बताउँदै अध्यक्ष विजुक्छेले भारतमा भएको १२ बुंदे सम्झौतासंग सम्बन्धित हरेक कुरा दिल्लीको निर्देशनमा भएको र भारतले संकेत दिए दलहरु बीच तुरुन्तै सहमति हुने बताउनुभयो । उहाँले नेपालका तीन दलका नेता भारतको चंगोलमा फसेको आरोप लगाउनुभयो । भारतले पहिला राष्ट्र संघीय मिसन (अनमिन) जाओस भन्ने चाहेको बताउँदै अध्यक्ष विजुक्छेले अनमिन गएपछि नेपालमा आफनो प्रभुत्व जमाउने र हाली मुहाली चलाई भरपर्दो शक्तिको रुपमा भारत रहन चाहेको दाबी गर्नुभयो ।
नेपालका माओबादीले भारतीय माओवादीलाई तालिम दिएको भन्ने आरोप गलत भएको भन्दै नेपालको माओबादीलाई झुकाउन र नेपाललाई दवाव दिई प्रभुत्व बढाउन यस्तो आरोप लगाएको उहाँको तर्क थियो । उहाँले हिन्दुस्थानको पत्यक्ष सहयोग नपाएको भए नेपालको माओबादी यो ठाउँमा नपुग्ने भन्दै भारतीय माओवादीलाई तालिम दिएको चर्चा आफुलाई विश्वास नलागेको बताउनुभयो । उहाँले भारतले दवाव दिन र माओवादीलाई झुकाउन मात्रै खोजेको बताउनुभयो । भारतकै कारण बिदेशी प्रमुखहरुलाई समेत नेपाल आउन नदिएको उहाँको आरोप थियो ।



