प्रधानमन्त्री नेपालद्वारा नेताहरुको ध्यान सत्ता केन्द्रित भएकोले मुलुकले गति पाउन नसकेको उल्लेख

– आनन्द गौतम

 

ताप्लेजुङ, कार्तिक २८ – प्रधानमन्त्री माधवकुमार नेपालले नेताहरुको ध्यान सत्ता केन्द्रित भएकोले मुलुकले गति पाउन नसकेको बताएका छन् ।

ताप्लेजुङमा आइतबार जिल्ला वन र जिल्लास्वास्थ्य कार्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै नेपालले सोमबार हुने शीर्ष नेताहरुको बैठकमा शान्ति, संबिधान र सत्ता साझेदारको बिषयमा छलफल हुने बताएका छन् । हात्तिवनमा भएको पहिलो चरणको गोप्य बैठकमा नेताहरु सत्ताको बिषयमा केन्द्रित भएकोले कुनै सहमति हुन नसकेपनि गोकर्ण रिसोर्टमा भएको दोश्रो बैठक शान्तिका बिषयमा केन्द्रित भएकोले भोलिको बैठकले सहमति निकाल्नेमा आफु आशाबादी भएको नेपालले उल्लेख गरे । 

सहमतिमा आए मात्रै सकारात्मक परिणाम आउने बताउँदै  नेपालले लोकतन्त्रमा बल र धम्किबाट कोहिपनि नतर्सने बताए । प्रसिद्ध तिर्थस्थल पाथिभराको दर्शन गर्ने समेत उदेश्य राखेर आएका नेपालले प्रतिकुल मौसमका कारण पाथिभराको दर्शन गर्न भने सकेनन् ।

प्रधानमन्त्रीसँग शान्ति मन्त्री रकम चोम्जोङ, गृह सचिव गोविन्द कुसुम, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्नेत सहितको टोली छ । टोली आइतबार नै धनकुटा गएको छ ।