कास्की । उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल शिक्षण अस्पताल आज तनावग्रस्त बनेको छ ।
पेट दुखेर उपचारका लागि मणिपाल अस्पताल पुगेका पोखरा-१६ बाटुलेचौरका ४८ वर्षीय पेचबहादुर कुँवरको आज मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका थिए ।
उनीहरूले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।
दश दिनदेखि बाबु रणबहादुर कुँवरको किरिया बस्दैआएका उनी हिँडेरै आज अस्पताल पुगेका थिए । नेपाली सेनाका अवकाशप्राप्त कुँवर सोही अस्पतालका गाडीचालक पनि हुन् ।
दुईदिनअघि कास्कीको कास्कीकोट गाविसका मणिराम सुवेदीको उपचारमा समेत लापरबाही भएको भन्दै उनका आफन्तले पनि अस्पताल तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपात गरेका थिए ।