सहमतीय सरकार र सर्वमान्य संविधान दिन नसक्ने संविधानसभा भङ्गको माग गर्दै राप्रपा नेपालद्वारा राजधानीमा प्रदर्शन

काठमाडौं, कार्तिक २९ – सहमतीय सरकार र सर्वमान्य संविधान दिन नसक्ने संविधानसभा भङ्गको माग गर्दै राप्रपा नेपालले सोमबार राजधानीमा प्रदर्शन गरेको छ ।

राप्रपा नेपालको प्रदर्शन र धर्नाका कारण राजधानीको बानेश्वर क्षेत्रको सडक झण्डै तीन घण्टा अवरुद्ध भयो । नयाँ बानेश्वरस्थित संविधानसभा अगाडि धर्ना दिन बबरमहल, मंगलबजार र कोटेश्वर क्षेत्रमा भेला भएका राप्रपा नेपालका कार्यकर्ताहरुले दिउँसो १ बजेदेखि सडक ढाकेपछि सवारी अवरुद्ध भएको हो ।

नयाँ बानेश्वरस्थित संविधानसभा अगाडि कोणसभा सकिएपछिमात्र दिउँसो ३ बजे सवारी सुचारु भयो । विरोध प्रदर्शनका लागि मकवानपुरबाट ठूलो संख्यामा राप्रपा नेपालका विद्यार्थी तथा युवाहरु राजधानी आएका थिए ।

मुलुक अनिर्णयको बन्दी भइरहँदा राजनीतिक दलहरुले सहमति निर्माण गर्न नसकेको भन्दै राप्रपा नेपालले दबाबमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । राप्रपा नेपाल संवैधानिक राजतन्त्र माग गर्ने संविधानसभाको एकमात्र दल हो ।