राष्ट्रपति डा यादव र साउदी अरेबियाका राजकुमार अलसाउदबीच भेट, महाउज्ज्वल राष्ट्रदीप मानपदवी प्रदान

काठमाडौ। राष्ट्रपति डा रामवरण यादवसँग साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभएको छ।


भेटका अवसरमा दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको थियो ।


सो अवसरमा राजकुमार अलसाउदले नेपालमा आर्थिक लगानीका सम्भावनाबारे अध्ययन गर्ने, सामाजिक क्षेत्रका परियोजनामा सहयोग गर्ने तथा नेपालमा साउदी अरेबियाको राजदूतावास खोल्न पहल गर्ने कुरा राष्ट्रपतिसमक्ष व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


यसैबीच, राष्ट्रपति डा रामवरण यादवले आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदलाई महाउज्ज्वल राष्ट्रदीप मानपदवी प्रदान गर्नुभयो ।


राष्ट्रपति डा यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजकुमार अलसाउदलाई नेपालको हितका लागि विशिष्ट योगदान पुर्‍याएबापत सो मानपदवी प्रदान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।