ललिता निवास जग्गा प्रकरण: पूर्व सहसचिव देउजासहित थप ४ जना पक्राउ

प्रधानमन्त्री निवास रहेको बालुवाटारको सरकारी जग्गा

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ।

1

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो। गुरुङ पक्राउ परेको केही समयपछि मंगलबार नै मालपोत र नापी कार्यालयका तत्कालीन अधिकृतहरु गरी ४ जना पक्राउ परेका हुन्।

1

सीआईबी स्रोतले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवम् पूर्व सहसचिव कलाधर देउजा तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेको जानकारी दिएको छ।

उनीहरु २०४९ देखि २०६६ सालसम्म मालपोत तथा नापी कार्यालयमा कार्यरत थिए।

1

बालुवाटारको सरकारी जग्गा अनियमितताका क्रममा सरकारी कागजात कीर्ते र सरकारी दस्तावेज केरमेटमा सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ।

ललिता निवासको ११३ रोपनी जग्गाको सरकारी दस्तावेज तथा मिसिलहरु गायव पारेर बिचौलियाहरुले नक्कली कागजात खडा गरेर अनियमितता गरेको भेटिएको थियो।