सरकारले विद्युत् प्राधिकरणलाई प्रभावकारी र चुस्त बनाउन भन्दै त्यसको सांगठनिक संरचनामा फेरबदल

काठमाडौ, मंसिर १ – सरकारले विद्युत् प्राधिकरणलाई प्रभावकारी र चुस्त बनाउन भन्दै त्यसको सांगठनिक संरचनामा फेरबदल गरेको छ । प्राधिकरणका दुइटा मौजुदा विभागलाई खारेज गरिएको छ भने तीनवटा नयाँ विभाग खोलिएका छन् ।

ऊर्जामन्त्री प्रकाशशरण महतको अध्यक्षतामा बसेको विद्युत् प्राधिकरणको बोर्डले उत्पादन, प्रसारण र वितरण गरी तीन विभागलाई फोरेर दुई-दुइटा विभाग बनाइएका छन् । उत्पादनलाई फुटाई मर्मत सम्भार विभाग खडा गरिएको छ । यसअघि उत्पादन विभागले नै आयोजना र प्रसारण लाइनको मर्मतसम्भारको कार्य गथ्र्यो ।

उत्पादन विभागको ध्यान मर्मतमा भन्दा आयोजना निर्माणमा मात्र जाने गरेकाले छुट्टै मर्मत सम्भार विभाग खडा गरिएको बोर्डका सदस्य लेखमानसिंह भण्डारीले जानकारी दिए । प्रसारण विभागलाई समेत फुटाएर दुइटा विभाग बनाइएका छन् । उनका अनुसार एउटाले प्रसारण लाइनको निर्माणमात्र हेर्ने र अर्को विभागले मागको प्रक्षेपण गर्ने, निजी कम्पनीसित विद्युत् खरिद सम्झौता गर्नेलगायतका काम हेर्नेछ ।

वितरण तथा उपभोक्ता सेवा विभागलाई छुट्याई पूर्व र पश्चिम हेर्ने दुइटा छुट्टाछुट्टै विभाग बनाइएका छन् । काठमाडौं र यसदेखि मुलुकको पूर्वको भागलाई हेर्ने गरी पूर्व क्षेत्र वितरण विभाग र काठमाडौंभन्दा पश्चिमी भाग हेर्ने गरी पश्चिम क्षेत्र विभाग खडा गरिएको छ । पूर्वी विभागको काठमाडौं र पश्चिम विभागको कार्यालय पोखरामा राख्न प्रस्ताव गरिएको छ । एउटै विभागबाट देशभरका काम हेर्न गाह्रो पर्दै आएकाले दुइटा विभाग बनाइएको हो ।