व्यवस्थापिका संसदमा अर्थमन्त्रीलाई सुरक्षा नदिनु सभामुख सुवास नेम्बाङको कमजोरी भएको पूर्व सभामुख ढुङगानाको टिप्पणी

काठमाडौ, मंसिर ६ – पूर्व सभामुख दमननाथ ढुङगानाले व्यवस्थापिका संसदमा गत शुक्रबार भएको घटना षडयन्त्रपूर्ण भएको बताएका छन् ।

बजेट प्रस्तुत गर्न रोस्ट्रम जाँदै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादीका सभासदले दुव्र्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै उनले प्रधानमन्त्री निर्वाचनलाई ध्यानमा राखि सरकारबाट षडयन्त्र भएको बताएका हुन् ।

काठमाडौमा रेडियो कान्तिपरको एक कार्यक्रममा सोमबार कुरा गर्दै ढुङगानाले उक्त षडयन्त्रमा कांग्रेसतर्फबाट वर्तमान सरकारमा मन्त्री भएकाहरू समेत सहभागी भएको आरोप लगाएका छन् । आफ्ना दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको उम्मेदवार हुँदाहुँदै संसदको चालु अधिवेशन अन्त्य गर्न कांग्रेस मन्त्रीहरूले सहमति जनाउनु दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरेका छन् ।

माओवादीले प्रमुख प्रतिपक्षका रुपमा रचनात्मक विरोध गर्छु भन्ने संकेत गर्दा समेत अर्थमन्त्री पाण्डेलाई  सुरक्षा नदिनु सभामुख सुवास नेम्बाङको कमजोरी भएको ढुङगानाले टिप्पणी गरे ।