महेन्द्रनगर । भारतबाट काम गरेर फर्कदै गरेका एक नेपाली युवक भारतीय सहरमा लुटिएका छन । बसमासँगै सवार रहेका अन्य युवकहरुले केरा खुवाएर लुटेको पीडितले बताएका छन् ।
भारतको अल्मोडाबाट महेन्द्रनगरस्थित घर फर्कदै गरेका भीमदत्तनगरपालिका ४ का ३५ वर्षका जगत सिंह लुटिनु भएको हो । उहाँको साथबाट लुटेराहरुले नगद चारहजार भारतीय रुपैयाँसहित झोलासमेत लुटेरा लगेका छन् ।
बसमा बेहोस् अवस्थामा रहेका सिंहलाई भारतीय प्रहरीले उद्वार गरेर टनकपुरस्थित सरकारी अस्पतालमा उपचारका लागि लगेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको वनवासाबाट फर्किएका एक नेपालीले जानकारी दिएका छन् ।
भारतबाट काम गरेर र्फकने अधिकांश नेपालीहरुलाई खाने कुरामा औषधि प्रयोग गरेर लुटिने गरेका छन् ।
एसएसबीद्वारा आवतजावतमा रोक
महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल एसएसबीले पश्चिमी सीमा नाका क्षेत्रमा दुबै पक्ष आवतजावतमा रोक लगाएको छ । एसएसबीले केन्द्रीय निर्देशन अनुरुप बिहान ६ वजे अगाडि र राती १० बजेभन्दा पछि आवतजावतमा रोक लगाएको छ ।
एसएसबीले सीमा नाका क्षेत्रमा सार्वजनिक सुचना लगाएर दोहोरै आवतजावतमा रोक लगाएको हो । भारतीय बाटो भएर नेपाल आउन र नेपालबाट भारततर्फ जानका लागि बिहान ६ बजेअघि र रातीको १० बजेपछि आवतजावत गर्न नपाइने एसएसबीद्वारा जारी गरिएको सूचनामा जनाइएको छ । सीमा क्षेत्रमा दुई देशका बीचमा आपराधिक क्रियाकलाप रोक्नका लागि एसएसबीले सीमामा कडाइ गरेको स्रोतले जनाएको छ ।
नेपालमा पर्यटन वर्ष सन् २०११ मनाउनका लागि कञ्चनपुर क्षेत्रका जनताले सीमा नाका पूरै समयमा खोल्नुपर्ने माग गरिरहेका बेला एसएसबीले सीमा क्षेत्रमा बिहान ६ बजेअघि र राती १० बजेपछि रोक लगाएपछि भारतीय बाटो हुँदै नेपाल आउने पर्यटकहरुले समेत सास्ती खेप्नुपर्ने भएको छ । कञ्चनपुरका जिल्लाका व्यवसायी, नागरिक समाजलगायतले पर्यटन वर्षलाई सफल बनाउन पश्चिमी सीमा नाकामा २४ घण्टा नै सीमा नाका खुल्ला गर्नुपर्ने बताउँदै आएका छन् ।