माओवादी लडाकु क्यान्टोनमेन्टबाट निस्किएकाले नेपाली सेना मात्रै ब्यारेकमा बस्नु नपर्ने जनशक्ति पार्टीका सूर्यबहादुर थापाको दावी

काठमाडौ – राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले माओवादी लडाकु क्यान्टोनमेन्टबाट निस्किएकाले अब नेपाली सेना मात्रै ब्यारेकमा बस्नु नपर्ने बताएका छन् ।

क्यान्टोनमेन्टबाट निस्किएर लडाकु राजनीतिक कार्यक्रममा सहभागी भए पछि नेपाली सेनाले मात्र शान्ति सम्झौता पालना गर्न आवश्यक नभएको टिप्पणी थापाले गरे ।

कार्यकर्ता प्रशिक्षणका लागि शनिबार झापाको दमक पुगेका थापाले अनमिनले अनुगमनमा रहेका माओवादी लडाकुलाई राजनीतिक कार्यक्रममा सहभागी हुनबाट रोक्न नसक्नु दुखद भएको उल्लेख गरे ।

माओवादीको सो कदमले शान्ति सम्झौताको एउटा पखेटा भाँचिएको थापाको भनाई थियो ।

गोरखाको पालुङटारमा बैठकमा लडाकु सहभागी भएपछि अन्य दल तथा सरकारले चर्को बिरोध गर्दै आएका छन् । माओवदीको विस्तारित बैठकले जस्तोसुकै निर्णय गरेपनि माओवादीको व्यवहारमा परिरवर्तन नआएसम्म विश्वास गर्न नसकिने थापाले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका थापाले तत्कालै राष्ट्रपतिय शासन वा राजतन्त्रको पुनरागमन पनि सोच्न नसकिने बताए ।