नेपाल सरकारद्वारा रोमानिया, बुल्गेरिया र क्रोएसियाका लागि महावाणिज्यदूत नियुक्त

काठमाडौ – मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय जनगणना, २०६८ कार्यसम्पादन निर्देशिका जारी गर्न सैद्धान्तिक सहमति दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सो बैठकले प्रधानमन्त्री माधवकुमार नेपालको कम्बोडिया र बेल्जियमको भ्रमणलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले पत्रकारलाई जानकारी गराउनुभयो ।


तीनजना अवैतनिक महावाणिज्यदूत नियुक्तिका लागि बैठकले सैद्धान्तिक सहमति दिएको छ जसअनुसार सरिता खेतानलाई रोमानिमा, भोलाविक्रम थापालाई बुल्गेरिया र अमितप्रताप जबरालाई क्रोएसियाका लागि तोकिएको कुरा सञ्चारमन्त्रीले बताउनुभयो ।


बैठकले महेशसिंह कठायत र अमृतकाजी श्रेष्ठलाई प्रहरी प्राविधिक नायब महानिरीक्षकमा बढुवा गरिएको छ भने छजना प्रहरी अतिरिक्त महानिरीक्षकको कार्यक्षेत्र हेरफेर गरेको छ ।


नेपाली सेनाका तीनजना सहायक रथीहरु विनोद बस्नेत, पूर्णचन्द्र थापा र उमेशकुमार भट्टराईले तीन वर्षका लागि पदावधि थप गर्ने निर्णयका साथै बैठकले सहायक रथी प्रदीपविक्रम राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले भारतीय स्थलसेनाका प्रमुख विजयकुमार सिंहलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने, उच्चशिक्षा विधेयक २०६८ व्यवस्थापिका-संसद्मा प्रस्तुत गर्ने र मुक्त कमैया समस्या समाधान आयोगको म्याद आगामी असार महिनासम्म थप्ने निर्णय गरेको छ ।