काठमाडौ – नेकपा एमालेका सचिव विष्णु पौडेलले सहमतिको सरकार गठनको पार्टीको प्रयास असफल प्रमाणित भईसकेकाले अब एमाले बहुमतीय सरकारको पक्षमा जाने बताउनु भएको छ । पार्टी सहमतिको बाहेक कुनै पनि सरकार बनाउने प्रक्रियामा सहभागी नहुने आधिकारिक निर्णय यथावत रहेको अवस्थामा सचिव पौडेलको त्यस्तो भनाई आएको हो ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव पौडेलले सहमतिको सरकारको निर्माणको प्रयास असफल भईसकेकोले पनि एमाले सहमतिको सरकारको अडानबाट पछि हटने मनस्थितिमा पुगेको बताउनुभयो । यद्यपि उहाँले बहुमतीय प्रणालीबाट सरकार गठन गरे पनि त्यसलाई राष्ट्रिय सरकारको स्वरुपमा लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा उहाँले आगामी केन्द्रीय समितिको बैठकले बहुमतमा जाने निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो- अब त हद भईसक्यो अविलम्ब नयाँ सरकार बनाउनु पर्छ । त्यसकोलागी अब एमालेले परिस्थितिको मुल्याङकन गरेर रणनीति परिवर्तन गर्छ ।
उहाँले माओवादी निशस्त्र नभएसम्म उसको लडाकु र हतियार सँगको सम्बन्ध विच्छेद नभएसम्म उसको नेतृत्वमा सरकार निर्माण हुन असम्भव भईसकेको भन्दै मुलुकको प्रमुख कार्यभार शान्ति र संविधानको सुनिश्चिताकोलागी पनि एमालेले आफ्नो अडानमा परिवर्तन गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
यद्यपि उहाँले बहुमतको सरकार गठन गरे पनि अहिलेको प्रक्रियाबाट भने हुन नसक्ने स्पष्ट पार्नुभयो ।उहाँले जोड दिदै भन्नुभयो-बहुमतको सरकार बनाउन पनि नयाँ प्रक्रियामा जानु पर्छ । अहिलेको प्रक्रियाबाट सरकार बन्न सक्दैन भन्ने प्रमाणित भईसकेको छ ।
नेकपा एमाले संसदको अधिवेशन बोलाउन सकारात्मक रहेको स्पष्ट पार्दै उहाँले बैठक अगाडि सहमति बने त्यो उपलब्धि मुलक हुने भएकोले एमालेले सहमतिकोलागी जोड दिएको बताउनुभयो । यद्यपि उहाँले सहमति नभए पनि आफूहरु संसदको अधिवेशन बोलाउन सकारात्मक भएको स्पष्ट पार्नुभयो ।
माओवादी निशस्त्र नभएसम्म शान्ति प्रक्रिया अगाडि बढन नसक्ने ठोकुवा गर्दै पौडेलले माओवादीको ब्यवहारबाट उसल शान्ति र संविधान नचाहेको प्रष्ट भएको दावी गर्नु भयो । पछिल्लो समयमा राजनीतिक गतिरोध अन्त्यकालागी घनिभूत छलफलमा लाग्नु पर्ने अवस्थामा प्रधानमन्त्री सहित विभिन्न नेताहरुको विदेश भ्रमणलाई अनुचित भन्दै यतिवेला विदेश भ्रमण रोकेर छलफलाई निरन्तता दिनुपर्ने सुझाव दिनुभयो ।
मुलुकको राजनीतिक दलहरु सहमतिका साथ अगाडि बढने हो भने कसैले पनि नेपालको राजनीतिमा हस्तक्षेप गर्न नसक्ने ठोकुवा गर्दै उहाँले एक अर्कालाई अविश्वास गर्दा जसले पनि खेल्न सक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो-अहिले कसैलाई गाली गर्ने भन्दा पनि पार्टीभित्र र दलहरुवीच रहेको अन्तरविरोध अन्त्य गर्न तर्फ दलहरु लाग्नु पर्छ । हामिमै फुट भएको बेला कसले कहाँ खेल्छ भनेर भन्न सकिदैन ।
उहाँले भारतसँग केही अन्तर विरोध रहे त्यसलाई कुटनीतिक तवरबाट समाधान गर्नु पर्ने भन्दै कसैलाई गाली गरेर समस्याको समाधान हुन नसक्ने ठोकुवा गर्नुभयो ।