संविधानका विवादित विषयमा छलफल गरेर टुङ्गो लगाउन बनेको उच्चस्तरीय कार्यदलको बैठक निस्कर्षविहीन

काठमाडौ  – संविधानका विवादित विषयमा छलफल गरेर टुङ्गो लगाउन बनेको उच्चस्तरीय कार्यदलको बैठक विना निस्कर्ष सकिएको छ ।


लामो समयपछि बसेको बैठकमा १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य रुपमा सैन्य तालिम दिन उपयुक्त हुने की नहुने भन्ने विषयमा विवाद बढेपछि आजको बैठक विना निस्कर्ष टुङ्गिएको हो । मौलिक हक तथा निर्देशक सिद्धान्त समिति अन्तर्गतको भूमिअधिकार र सम्पत्तिको हकमा छलफल गर्ने भनिएपनि सैन्य तालिमका विषयमै विवाद भएपछि बैठक सकिएको रमेश लेखकले जानकारी दिनुभयो ।


सिंहदरवारमा बसेको बैठकमा संविधानसभाका संवैधानिक समिति र विषयगत समितिहरुको प्रतिवेदनमा देखिएको विवादलाई प्रतिवेदन अध्ययन समितिले २ सय २० प्रश्नावलीका आधारमा टुङ्गो लगाउन संविधानसभामा बुझाएपछि दलका नेताहरुले त्यस विषयमा छलफल अगाडि बढाएका हुन् ।


कार्यदलले ३९ प्रश्नावलीमा सहमति जुटाएको भए पनि मुख्य विषयवस्तुहरुमा टुङ्गो लगाउन भने सकेको छैन । राज्यको पुनर्संरचना, शासकीय स्वरुप जस्ता विषयहरु अझै टुङ्गो लाग्न सकेको छैन । दलहरुबीच सहमति नजुट्दा संविधान निर्माण प्रक्रिया समेत अवरुद्ध बनेको छ ।


निरन्तर रुपमा बस्दै आएको कार्यदलको बैठक एकीकृत माओवादीको विस्तारित बैठकका कारण करिव दुई साता स्थगित भएको थियो । कार्यदलको समावधि पनि यही मंसिर २५ गतेसम्म रहेको छ । बैठक भोलि बिहान साढे ८ बजे फेरि बस्नेछ ।